जुन जोगी आएपनि कानै चिरेको, मन्त्री र सदस्यसचिवको योजनामा डेढ करोडको काम अमानतमा, पशुपतिमा एकपछि अर्को बेथिति

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २४,

मुलुकमा हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथा मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन्। सदस्यसचिव मिलन थापाले आइतबार आह्वान गरिएको बैठकमा विभिन्न काम अमानतमा गराइएको हुँदा खरिद प्रक्रिया पूरा गरी भुक्तानी दिनुपर्ने भएकाले बजेट व्यवस्था गर्न आवश्यक देखिएको भन्दै लिखित प्रस्ताव कोषका सदस्यलाई पठाएका छन्। पशुपतिनाथ मन्दिर परिसरभित्र विभिन्न स्थानमा वृक्षरोपण गर्ने, बगैंचा निर्माण गर्ने, बोटबिरुवा संरक्षणका लागि ट्री–गार्डलगायतका घेरा पर्खाल लगाउने, चौतारा निर्माण गर्ने, सरसफाइ गर्ने, नेपालको राष्ट्रिय झन्डा राख्ने आदि कार्यका लागि अमानतमा काम गराउन प्रस्ताव पेस गर्नुपरेको सदस्यसचिव थापाद्वारा हस्ताक्षर गरी परिषद्का सदस्यहरूलाई पठाएको प्रस्तावमा उल्लेख छ। पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ। ‘इमरजेन्सी’मा कुनै काम गर्नुपरे अमानतमा गराउने प्रचलन छ। तर पशुपतिमा मन्त्री किरातीको निर्देशन र सदस्यसचिव थापाको प्रस्तावमा अमानतमा काम गराउन लागिएको हो। पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ। पशुपति क्षेत्रलाई स्वच्छ, सफा राखी सुन्दर बनाउन बोटबिरुवा र फूल रोपी हरियाली बनाउन आवश्यक भएको तर उक्त कार्यका लागि बजेट अपुग भएको हुँदा तत्काल बजेट व्यवस्था गर्न भनिएको छ। मन्त्री किरातीसँगको परामर्शमा सदस्यसचिवले बैठकका अजेन्डा प्रस्ताव गर्छन्। मन्त्री किरातीको अध्यक्षतामा बस्ने बैठकले सबै अजेन्डा पारित गर्नेे निश्चित छ। आफ्ना अजेन्डामा असहमति राख्ने परिषद्का तीनजना सदस्यलाई मन्त्री किरातीले हटाइसकेका छन्। किरातीका प्रस्ताव तथा निर्णयमा असहमति राख्ने विश्वकिरण जैन, पूर्णबहादुर जेठार र देवी बराललाई परिषद्को सदस्यबाट हटाइएको हो। पशुपति क्षेत्र सौन्दर्यकरणका लागि सार्वजनिक खरिद ऐन मिचेर मन्त्री किरातीले आफूले चाहेका व्यक्तिलाई अमानतमार्फत काम दिन लागेका हुन्। चालु आर्थिक वर्ष २०७९-८० सकिन एक साता बाँकी रहँदा सोमबारको बैठकबाट प्रस्ताव पारित गरेर रकम खर्च गर्ने मन्त्री किराती र सदस्यसचिव थापाको योजना छ। थापाको प्रस्तावअनुसार केही काम सम्पन्न भइसकेको छ भने केही गर्ने योजना छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाले नागरिकको जिज्ञासामा सुरुमा अमानतमा काम गर्न पाइँदैन भन्ने जवाफ दिए। आइतबारको बैठकमा प्रस्ताव लैजाँदै हुनुहुन्छ नि भन्दा थापाले भने, ‘इमरजेन्सी परेका बेला सानो काम अमानतमा गर्न सकिन्छ।’ डेढ करोड रूपैयाँको काम अमानतमा गराउँदै हुनुहुन्छ रे नि भन्ने जिज्ञासमा थापाले प्रस्ताव हेर्नुपर्छ भन्दै फोन राखे। कुनै काम तुरुन्त गर्नुपर्ने भए डिजाइन इस्टिेमट गरेर काम गराउने प्रचलन अमानत हो। यसैगरी पशुपति क्षेत्रको कोर एरियामा विदेशी सहयोगमा कुनै संरचना नबनाउने निर्णय भए पनि भारतको सहयोगमा करिब १६ करोड रूपैयाँमा बज्रघर पुनर्निर्माण गर्ने प्रस्ताव पनि आइतबारको बैठकमा राखिने भएको छ। किरातीले पशुपतिको घ्याम्पो चोर्ने प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याएका छैनन्। कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने गोठाटारमा पशुपति विकास कोषका नाममा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै पनि मन्त्री किरातीले जग्गा खोजी नगरी हालसाबिक गर्ने निर्णय गरेपछि उनी विवादमा परेका थिए। अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले त्यसलाई हालसाबिक गर्ने निर्णय गरेपछि आलोचना भएको थियो।

Like