विश्वव्यापी युक्रेनमाथि रुसी आक्रमणको असर
एजेन्सी,
विश्वमा विश्वव्यापी विरोध र प्रतिबन्धको अवज्ञा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैनिक अपरेसनको घोषणा गरेका छन्। उनले कुनै विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेमा रुससँग भएका आणविक हतियारको समेत प्रयोग गर्ने संकेत गरेका छन्। त्यसो गरिएमा कसैले कल्पना नगरेको परिणाम निम्तिने चेतावनी उनले दिएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेकोे छ। त्यसको प्रभाव विश्वव्यापी रूपमा देखा परेको छ। रुसले युक्रेनका सहर र सैनिक आधार शिविरमा हवाई आक्रमण गरेपछि देश छाड्न ठूलो संख्यामा सर्वसाधारण रेल तथा कारमा लामबद्ध देखिएका छन्। युक्रेन सरकारका अनुसार पूर्ण स्तरको आक्रमणका लागि रुसी ट्यांक र सैनिक सीमाक्षेत्रमा तैनाथ छन्। पूर्व, उत्तर र दक्षिण दिशाबाट रुसले आक्रमण सुरु गरेपछि युक्रेनको राजधानीमा साइरन बजाइएको थियो। हजारौं सर्वसाधारणले रेल तथा सडक मार्ग हुँदै देश छाड्न तछामछाड गरेका थिए। रुसी आक्रमणका कारण ४० सैनिकको मृत्यु भएको र दर्जनौं मानिस घाइते भएको युक्रेनी सरकारले जनाएको छ। रुसी आक्रमणले भूराजनीतिक व्यवस्था र समग्र विश्वमा प्रभाव पार्ने देखिएको छ। रुसी आक्रमणको निन्दा गर्दै नेटोका प्रमुखले युद्धले युरोपको शान्ति खलबलिएको बताएका छन्। उता अमेरिकाको नेतृत्वमा रहेको एलायन्सले पूर्वी युरोपमा थप सैनिक परिचालन थालेको छ। नेटोले रुसको सीमासँग जोडिएको युक्रेनको पूर्वी क्षेत्रमा हवाई, स्थल तथा समुद्री सेना तैनाथ गरेको छ। ‘हामी बिहान उठ्दा फरक विश्वमा ब्युँझेको पायौं,’ जर्मनीका विदेशमन्त्रीले भनेका छन्। आक्रमण सुरु भएपछि विश्वको वित्तीय बजार नराम्ररी प्रभावित भएको छ भने तेलको मूल्य अकासिएको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल ६ अमेरिकी डलरले बढेको छ। विश्वको स्टक बजारमा पनि ह्रास आएको छ। युद्ध रोक्न कैयन हप्तासम्मको कूटनीतिक प्रयास असफल भएको छ। ‘युरोपमा एक पूर्ण स्तरको युद्ध सुरु भएको छ,’ युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले भनेका छन्, ‘रुसले युक्रेनलाई मात्र होइन, आधुनिक विश्वका समान्य जीवनको नियमविरुद्ध आक्रमण गरेको छ।’ विश्वका नेताले रुसी आक्रमणको आलोचना गरेका छन्। यसले ठूलो मानवीय क्षति हुन सक्ने, युक्रेनमा निर्वाचित प्रजातान्त्रिक सरकार बर्खास्त हुन सक्ने, शीतयुद्धपछि कायम भएको सुरक्षा व्यवस्था खलबलिन सक्ने र खाद्यवस्तुको मूल्य अकासिएर विश्व अर्थव्यवस्थामा प्रभाव पर्ने उनीहरूको टिप्पणी छ। युक्रेनका सरकारी अधिकारीले रुसी सेना युक्रेनमा प्रवेश गरे पनि सर्वसाधारणलाई घरमै बस्न र नआत्तिन भनेका छन्। राजधानी कियभ, पूर्वी सहर खारकिभ तथा पश्चिमी सहर ओडेसमा विस्फोट भएको सुनिएको छ।
अमेरिका, एसिया तथा युरोपका विभिन्न देशले युक्रेनविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन्। तर उनीहरूले युक्रेनको रक्षाका लागि सैनिक कारबाही भने नगरिने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग कूटनीतिक सम्बन्ध विच्छेद गरिएको बताएका छन्। युक्रेनमा मार्सल कानुन लागु गरिएको छ। ‘हामीले लडाइँ र क्रास दुवै खेप्नुपरेको छ। योभन्दा नराम्रो अरू के हुन सक्छ,’ राजधानी किएभकी ६४ वर्षीय लियडमिला गिरयेभाले भनिन्। उनी पश्चिमी सहर लभिभ हुँदै पोल्यान्ड जाने तयारीमा छिन्। सुरुमा युक्रेनमाथि हवाई आक्रमण गरिएको थियो भने त्यसपछि विभिन्न क्षेत्रमा स्थल आक्रमण भएको थियो। रुसका सैनिक गाडी युक्रेनको स्वामित्वमा रहेका क्षेत्रमा प्रवेश गरेको सीमाक्षेत्रमा जडित सुरक्षा क्यामरामा देखिएको युक्रेनका अधिकारीले बताएका छन्। युक्रेनको समग्र हवाई सुरक्षालाई केही घण्टामै तहसनहस पारेको दाबी रुसी सैनिकले गरेको छ। पुटिनका प्रवक्ताले युक्रेन कब्जा गर्ने उद्देश्य नभएर युक्रेनमा ‘असैनिकीकरण’ गर्ने उद्देश्यले आक्रमण गरिएको बताए। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले इतिहासको पुनर्लेखन गर्न रुसले बल प्रयोग गरेको र आक्रमण पूर्वतयारीका साथ गरिएको बताएका छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षाका लागि सहयोग गर्न विश्वका नेतालाई आह्वान गरेका छन्। उनले युक्रेनको हवाईक्षेत्रको सुरक्षाका लागि सहयोग मागेका छन्। युक्रेनका विदेशमन्त्री डिम्ट्रो कुलेबाले विश्वले पुटिनलाई रोक्नुपर्ने बताएका छन्। तर यो दाबीको पुष्टि भएको छैन। उता युक्रेनले केही रुसी जहाजलाई खसालेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई थप प्रतिबन्ध लगाएर सजाय दिइने र ग्रुप अफ सेभेन राष्ट्रसँगको छलफलपछि थप योजनाको घोषणा गरिने बताएका छन्। आक्रमणको विश्वव्यापी स्तरमा आलोचना हुन सक्ने भएकाले रुसी राष्ट्रपतिले अन्य राष्ट्रलाई हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। आफ्नो आणविक हतियारतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘हामीलाई प्रत्यक्ष आक्रमण भयो भने सम्भावित आक्रमणकारीको विनाश हुनेछ र उसले भयंकर परिणाम खेप्नुपर्नेेछ,’ उनले भनेका छन्। युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन जेराससेहेन्कोले रुसले किएभ, खारकिभ तथा निप्रो सहरमा रहेका सैनिक शिविर, हवाई शिविर तथा सैनिक डिपोमा आक्रमण गरेको फेसबुकमा लेखेका छन्। उता रुसको रक्षा मन्त्रालयले सहरलाई लक्षित नगरिएको दाबी गरेकोे छ। रुसी आक्रमण रोक्न संयुक्त राष्ट्रसंघीय सुुरक्षा परिषद्को आपत्कालीन बैठक आयोजना गरेको थियो। बैठकको सुरुमा राष्ट्रसंघका महासचिव एन्टिनिओ गुठेरेसले पुटिनलाई शान्तिका लागि अवसर दिन अनुरोध गरेका थिए। उता युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स मिसेल तथा युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेयेनले आक्रमणप्रति क्रेमलिनलाई उत्तरदायी बनाइने बताएका छन्। ‘यो कठिन घडीमा हामी युक्रेन, युक्रेनका महिला, पुरुष तथा बालबालिकाको साथमा छौं,’ दुवै अध्यक्षले ट्विटरमा उल्लेख गरेका छन्।