‘कमरेड डा. भीम रावल एमालेमै हुनुहुन्छ’
रासंसा/काठमाण्डौ, आषाढ २०,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल समसामयिक राजनीति एवं राष्ट्रिय विषयवस्तु’bout टिप्पणी गर्दै कहिलेकाहीं चर्चामा आउने गरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणीले चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावल पार्टी राजनीतिमा सक्रिय देखिँदैनन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रावल पराजित भए । महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेका कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउन नसकेका हुन् । एमालेको १८ चैतमा भएको सचिवालय बैठकले रावलसँग वार्ता गर्न एक समिति गठन ग-यो । पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा सदस्य छन् । वार्ता समितिमा रहेका तीनै जना नेतासँग रावलको आन्तरिक सम्बन्ध त्यति राम्रो भने छैन । समयसमयमा डा. रावलले एमाले छोड्ने चर्चा पनि चल्ने गरेको छ । तर, उनी आफूले लामो समय पार्टी निर्माणमा योगदान पु-याएको भन्दै एमालेमै एउटा सदस्यका रूपमा रहने बताउँदै आएका छन् । पार्टी राजनीतिमा ठोस जिम्मेवारी दिनका लागि रावलसँग एक चरणको वार्ता भएको छ । तर, त्यसपछि कुनै छलफल पनि भएन र उनले कुनै जिम्मेवारीसमेत पाउन सकेनन् । एमालेले केही समयअघि चलाएको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि कार्यक्रममै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए । सुदूरपश्चिममा एमालेभित्र अझै बलियो मानिएका रावलको गृहजिल्लामै पुगेर पार्टी उपाध्यक्ष पौडेलले आलोचना गरेपछि पार्टीकै कार्यकर्ताले प्रतिवाद गर्दा त्यसपछि वार्ता समिति गठन गर्न एमाले बाध्य भयो । अछामको सो घटनापश्चात् पौडेल र रावलबीच केही दिन जुहारी नै चलेको थियो । उपाध्यक्ष पौडेल नेतृत्वको वार्ता समितिसँग पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा एक चरणको वार्ता भयो । वार्ता सकारात्मक भएको कुरा सार्वजनिक भयो । तर, दोस्रो चरणको वार्ता वा पार्टीमा जिम्मेवारी दिने कुरा भने अझै भएको छैन । सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरुट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदूरपश्चिमकै भट्ट र थापा रहेको वार्ता समिति बनाइएको थियो । समिति गठन भएको दुई सातापश्चात् सो समितिले रावलसँग वार्ता ग¥यो । तर, त्यसपछि कुनै छलफल नै हुन सकेको छैन । एमाले सचिव एवं वार्ता समितिका सदस्य भट्टले एक चरणको छलफलबाहेक अरू कुनै छलफल हुन नसकेको बताए । पार्टीले दिएको जिम्मेवारीअनुसार आफू कर्णाली प्रदेशमा सक्रिय भएकाले दोस्रो चरणको छलफल वा कुनै भेटघाट हुन नसकेको उनले बताए । ३ वैशाखमा पहिलोपटक समिति र डा. रावलबीच छलफल भएको थियो । छलफलपछि नेताले निकै उत्साहपूर्ण प्रतिक्रिया दिँदै संवाद सहमतिनजिक पुगेको र लगत्तै अर्को छलफल गरेर ठोस सहमति गरेर अघि बढ्ने बताएका थिए । तर, त्यसपछि अहिलेसम्म समिति र नेताहरू यस विषयमा मौन रहेका छन् । ‘उहाँ (भिम रावल)सँग पहिलो चरणको छलफल भएको छ । यसैबीचमा पार्टीले मलाई कर्णाली प्रदेशमा जिम्मेवारी दिएपछि म यतै सक्रिय छु’ सचिव भट्टले राजधानीसँग भने, ‘त्यसपछि कुनै छलफल हुन सकेको छैन । पछिल्लो समय म कर्णालीमै अलि व्यस्त भएँ ।’ ‘कमरेड भिम रावलले पार्टी छोड्नुभएको छैन । छोड्न चाहेको भए पहिले नै छोडिसक्नुहुन्थ्यो, उहाँ पार्टीमै हुनुहुन्छ । पार्टीले कुनै कारबाही पनि गरेको छैन । त्यसैले उहाँसँग छलफलपश्चात् हामीले पार्टी नेतृत्वसँग कुनै ठोस जिम्मेवारी दिन आग्रह गरेका छौं’ थापाले भने, ‘जिम्मेवारी दिने कुरा पार्टी अध्यक्ष, महासचिवसहित नेतृत्वको हो । उहाँले कुनै जिम्मेवारी पाउँनुहुन्छ । अहिले नै पाइसक्नुभएको छैन ।’ एमाले स्थायी कमिटीका सदस्य एवं वार्ता समितिका सदस्य थापाले रावलसँग छलफल भएको बताए । सोही छलफलका आधारमा रावललाई पार्टीमा ठोस जिम्मेवारी दिनका लागि पार्टी नेतृत्वसँग आग्रह गरेको बताए । समितिले आफ्नो काम सकेको तर नेतृत्वले जिम्मेवारी दिने कुरामा कुनै निर्णय अहिले नभएको भन्दै थापाले पार्टी नेतृत्वले छिट्टै नै कुनै जिम्मेवारी दिने विश्वास व्यक्त गरे । रावलले आफ्ना कमीकमजोरी सच्याएर पार्टीमै सक्रिय हुने भएकाले पार्टीले एउटा ठोस जिम्मेवारी दिनुपर्ने उनले बताए । ‘पार्टीले आवश्यकता महसुस गरेर वार्ता समिति गठन ग¥यो । पहिलो चरणको छलफल पनि भयो । त्यसपछि मलाई पुनः बस्ने र हामी खबर गर्छौं भनेर उहाँहरूले भन्नु भएको थियो । तर, त्यसपछि मलाई कुनै खबर आएको छैन,’ रावलले भने, ‘अहिलेसम्म खबर किन आएन भन्ने कुरा मलाई पनि थाहा छैन ।’ एमाले पूर्वउपाध्यक्ष डा. रावलले पार्टीले गठन गरेको वार्ता समितिसँग पहिलो चरणको छलफल भएको तर त्यसपछि कुनै छलफल नभएको बताए । पहिलो चरणको छलफलमै फेरि अर्को चोटी बस्ने र खबर गर्ने बताइए पनि त्यसपछि कुनै खबर आफूलाई नआएको रावलले बताए । आफू अहिले पनि एमालेमै रहेकाले पार्टीका इमानदार नेता तथा कार्यकर्ताको सल्लाह, मागअनुसार अगाडि बढ्ने उनले बताए ।