एकीकृत समाजवादी सातै प्रदेशको औकात नापेर काठमाडौँ फर्कियो
रसंसा/काठमाण्डौ, चैत्र २३,
मुलुकमा तत्कालीन नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू पहिलोपटक आफ्नो संगठनको अवस्था अध्ययन गर्न फिल्डमा खटिएर काठमाडौँ फर्किएका छन् । चैत ३ गते बसेको सचिवालय बैठकले पार्टीको अवस्था र सम्भावित चुनावी रणनीतिका विषयमा अध्ययन गर्न नेताहरूलाई फिल्डमा खटाएको हो । एमालेबाट देशैभरबाट स्थानीय तहमा १ हजार ५ सय १ जनाले एकीकृत समाजवादी रोजेका थिए । पछिल्लो समय स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादी रोज्नेको सङ्ख्या बढ्दै गएकाले अझ बढ्न सक्ने पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले रातोपाटीलाई बताए । पार्टीको अवस्था र सम्भावित चुनावी रणनीति तय गर्न प्रदेश नम्बर एकमा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बाग्मती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाललाई खटाएको थियो । सातै प्रदेशको रिर्पोट अध्ययन गरेर चैत मसान्तभित्र पार्टीले स्थानीय तहको सीट दाबी गर्ने खतिवडाले बताए । यसअघि एमालेले जितेका स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीले सर्त राखेको छ । देशभरिका ६ वटा महानरपालिकामध्ये एमालेले जितेका काठमाडौँ वा पोखरामध्ये एउटा महानगर आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । ‘चैत ५ गतेदेखि २० गतेसम्म ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नाराका साथ अधिकांश पालिका, वडा र टोल कमिटी गठन गरेका छौँ’ रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने, ‘सबै प्रदेशमा खटिनुभएका कमरेडहरूले अध्ययन गरेर रिर्पोट ल्याउनुभएको छ । यसपछि संगठनको हैसियत थाहा हुनेछ र यसैलाई आधार बनाएर चुनावी तालमेलमा सीट दाबी गर्छौँ ।’ गठबन्धनको प्रक्रियाबारे सहमति जुट्न नसकिरहेको अवस्थामा एकीकृत समाजवादी पार्टीको सांगठनिक अवस्था र चुनावी समीकरणका विषयमा अध्ययन गरेर सातै प्रदेशबाट अध्ययन गरेर नेताहरू काठमाडौँ फर्किएका हुन् । तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भने एमालेले जितेको सानो अंश एकीकृत समाजवादीलाई दिएर अरुवा तालमेल गर्नुपर्ने अडानमा छन् । काँग्रेसले भने स्थानीय तहको मतदाताका आधारमा चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको छ । सत्ता गठबन्धनमा ७५३ स्थानीय तहमा कुन मोडलमा भागबण्डा गर्ने भन्ने विषयमा सहमति भएको छैन । यदि प्रारम्भिक चरणमै प्रदेशमा अनावश्यक सीट दाबी गर्दा सत्ता गठबन्धनमा सहभागी दलहरू बिच्केलान् भनेर उनीहरूले रिपोर्ट गुपचुप राख्न खोजेको देखिन्छ । सातै प्रदेशमा पार्टीको सांगठनिक अवस्था र जित्ने आकलन गरिएका स्थानीय तहहरू सो पार्टीका नेताहरूले खासै खुलाउन चाहेनन् । चुनावी तालमेल गरेर कति सीट जित्न सकिन्छ भन्ने विषयमा समेत अधिकांश प्रदेशका नेतृत्वले खुलाएनन् । जिल्ला हुँदै पालिका र वडासम्म कमिटी बनाइरहेकाले यकिन तथ्याङ्क आउन नसकेको प्रदेश नम्बर एकका इञ्चार्ज घनेन्द्र बस्नेतले रातोपाटीलाई बताए । ‘यस प्रदेशबाट प्रमुख/उपप्रमुख गरेर १० जनाले एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन्, अरू वडा अध्यक्ष र सदस्यहरू छन्’ बस्नेतले भने, ‘सबै पालिकाहरूबाट तथ्याङ्क मागेका छौँ । सबै तथ्याङ्क आएपछि कति सीटमा तालमेल गर्ने भन्न सकिन्छ ।’ प्रदेश एकमा १३७ स्थानीय तह छन् । यहाँ पार्टीको बलियो संगठन रहेको एकीकृत समाजवादीका नेताहरूको दाबी छ ।
मधेस प्रदेशमा नेकपा एमालेभन्दा एकीकृत समाजवादी राम्रो पोजिसनमा रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दाबी गरे । प्रदेशसँगै स्थानीय तहमा धेरै जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेकाले संगठन बनाउन सजिलो भएको उनले बताए । अहिले नै कति स्थानीय तहमा दाबी गर्ने भन्ने विषय बाहिर ल्याउँदा राम्रो नहुने खतिवडाको जिकिर छ । मधेस प्रदेशमा एमाले राम्रो भएको प्रचार गरिए पनि स्थानीय चुनावमा जनताले देखाइदिने उनले बताए । ‘संगठनको अवस्थाका बारेमा अवलोकन गर्न मधेस प्रदेश गरेको थिएँ । अधिकांश पालिका र वडामा कमिटी गठन गरिसकेका छौँ’ खतिवडाले भने, ‘सबै पालिकाको तथ्याङ्क लिइरहेका छौँ, सबै तथ्याङ्क विश्लेषण गरेर गठबन्धनमा दाबी गर्छौँ।’
बाग्मती प्रदेशका ११९ स्थानीय तहमा एकीकृत समाजवादी पार्टीको अवस्था केलाउन उपमहासचिव गंगालाल तुलाधार लागिपरेका छन् । उनी पनि पार्टीको समग्र अवस्था केलाएर मात्रै गठबन्धनमा दाबी गर्ने बताउँछन् । ‘संगठनको अवस्था कस्तो छ भन्ने विषयमा काम गरिरहेका छौँ । हामी यति सीट दाबी गर्ने भन्दा राम्रो बाहिर सन्देश जाँदैन, त्यसैले भन्दैनौँ । हामीलाई भन्न पनि गाह्रो छ’ तुलाधरले भने, ‘हामीले अधिकांश पालिका र वडा कमिटी बनाइसकेका छौँ, बाँकी चैत मसान्तसम्म बनाइसक्छौँ । त्यसपछि कति स्थानीय तह दाबी गर्ने भन्ने गठबन्धनमा राख्छौँ ।’ तर, पार्टीको पक्षमा भने पछिल्लो समय उत्साहजनक अवस्था रहेको तुलाधरको दाबी छ । एमालेबाट बागमतीमा वडा सदस्यसहित एक सय बढी जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे पनि अब कति स्थानीय तह जित्छन् भन्न कठिन छ । पार्टीले सांगठनिक अवस्थालाई केलाएर मात्रै स्थानीय तह दाबी गर्ने तयारी गरेको तुलाधर बताउँछन् । एमालेबाट विभाजन भई निर्माण भएको एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा कुनै पालिका प्रमुख/उपप्रमुख आफ्नो पक्षमा पार्न सकेन । तर, उप्रमुखसहित वडा अध्यक्ष, सदस्यहरू गरेर एक सयको सङ्ख्यामा जनप्रतिनिधि रहेको एकीकृत समाजवादीका लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले बताए । यस प्रदेशका १०९ स्थानीय तहमध्ये ३० देखि ४० वटासम्म पालिका दाबी गर्न सक्ने चौधरीले बताए । यद्यपि सबै प्रदेशको मूल्याङ्कन गरेर केन्द्रले स्थानीय तह दाबी गर्ने स्थिति हुन सक्ने उनी बताउँछन् । ‘हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका हौँ, थोरै स्थानीय जनप्रतिनिधि छन्,’ चौधरीले रातोपाटीसँग भने, ‘तर, हामीले पालिकासहित वडा तहसम्म लगभग बनाइसकेका छौँ, पालिका र वडामा केही समिति बनाउन बाँकी छ । तुलनात्मकरुपमा लुम्बिनी प्रदेशमा पार्टी संगठन बलियो हुँदै गएको छ ।’
यस प्रदेशमा एमाले प्रभाव बलियो भएकाले एकीकृत समाजवादी प्रदेश र स्थानीय तहमा कमजोर छ। एमाले छोडेर एकीकृत समाजवादी रोज्ने स्थानीय जनप्रतिनिधि असाध्यै कम छन् । तर, पार्टीबाट संगठनको अवस्था अध्ययन गर्न खटिएकी पार्टी उपाध्यक्ष जयन्ती राईले पछिल्लो समय एमाले छोडेर एकीकृत समाजवादी रोज्नेको सङ्ख्या बढ्दै गएको दाबी गरिन् । कर्णाली प्रदेशमा ७९ सीट भए पनि एकीकृत समाजवादीले सम्मानजनक हैसियत कायम हुने गरी स्थानीय तहमा दाबी गर्ने सो पार्टीका नेताले बताएका छन् । एमालेबाट विभाजन भएपछि ४ सय जनप्रतिनिधि जोडिएकाले हैसियत अनुसार प्रदेशमा दाबी गर्ने कर्णाली प्रदेशका इञ्चार्ज प्रकाश ज्वालाले बताए । ‘यस प्रदेश ४ सय जति जनप्रतिनिधि छन् । हामीले सम्मानजनक हैसियत कायम गरेर दाबी गर्छौं’ रातोपाटीसँग कुरा गर्दै ज्वालाले भने, ‘तत्कालीन एमालेबाट प्राप्त गरेको मतमा एकीकृत समाजवादीको बहुमत छ । सत्ता गठबन्धन सबैको सम्मानजनक हुने गरी बाँडफाँट गर्नुपर्छ ।’ ‘गण्डकीमा बाहिर सोचे जस्तो एकीकृत समाजवादी कमजोर छैन । साथीहरु पार्टी निर्माणमा खटिनु भएको छ’ राईले रातोपाटीसँग भनिन् ‘आगामी स्थानीय तहमा पार्टीले बलियो प्रभाव देखाउने निश्चित छ ।’ प्रदेशका सबै नेताहरुसँग पर्याप्त छलफल गर्न नपाएकाले यकिन तथ्याङ्क ल्याउन नसकिएको राईले स्वीकार गरिन् । प्रदेशको सबै विवरण ल्याएपछि ८५ स्थानीय तहमा कति दाबी गर्ने निश्चित हुने उनले बताइन् । पार्टीको १५ दिने अभियानबाट पार्टीमा उभार आएको ज्वालाले जिकिर गरे । ‘हामीले ‘जनतामा जाऊँ एकीकृत समाजवादीलाई जिताऊँ’ भनेर नारा लिएर १५ दिने अभियान लिएर गाउँगाउँ गयौँ । जनपरिचालनको काम उत्साहका साथ सकिएको छ’ ज्वालाले भने । स्थानीय तहका जनप्रतिनिधिहरू एमाले छोड्ने बढ्दै गएकाले प्रदेशकै पहिलो शक्ति हुने सुदूरपश्चिम प्रदेशकी सह–इन्चार्ज निरा जैरुले दाबी गरिन् । सुदूरपश्चिम प्रदेश सभामा पनि एकीकृत समाजवादी पहिलो शक्तिका रूपमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा कुल ८० स्थानीय तह भए पनि तालमेल गरेर पहिलो शक्ति बन्ने अवस्था रहेको जैरुले बताइन् । प्रदेशमा कुन र कति स्थानीय दाबी गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्ने उनले बताइन् । प्रदेशमा स्थानीय तहका जनप्रतिनिधिहरू एमाले छोडिरहेकाले यकिन तथ्याङ्क भन्न नसकिने जैरुको भनाइ छ । प्रदेशकी सह–इन्चार्ज निरा जैरुले भनिन् ‘स्थानीय तहका जनप्रतिनिधिहरुमा एमाले छोड्ने लहर चलिरहेको छ । एकपछि अर्को गर्दै एकीकृत समाजवादीमा जोडिने जनप्रतिनिधिहरू बढ्दै गएका छन् । यसरी नै पार्टीमा आकर्षणहरु बढ्दै गएमा सुदूरपश्चिमका पहिलो पार्टी बन्ने सम्भावना छ । यस्तै अवस्था बढ्दै गएमा स्थानीय तहमा पहिलो पार्टी बन्ने सम्भावना छ । त्यो पार्टीमा देखिएको जनलहरले नै देखाइसकेको छ । यो स्ट्रेन्थ कमजोर हुन दिँदैनौँ ।’