स्वास्थ्यमन्त्री बस्नेत भनाई स्वास्थ्य विमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ
रासंसा/काठमाण्डौ, आषाढ १२,
मुलुकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य विमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन्। मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न नसकिएको पनि स्पष्ट पारे। उनले भने, ‘यो विमाको सम्बन्धमा धेरै कुरा उठेको छ। यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ। साँढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भइसकेको छ। ७० लाख नागरिक विमामा आवद्ध छन। ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो। र, यो विमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो। जनताका लागि यो धेरै ठूलो सेवा हो। तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भइरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ।’ मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भइरहेको समेत बताए।