चीनले दिएको ४० लाख खोप भण्डारणमै थन्कियो किन ?
रासंसा/काठमाण्डौ, ज्येष्ठ १२,
मुलुकमा कोरोना भाइरस (कोभिड–१९) खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ । यस खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्न नमिल्ने भएकाले भण्डारणमा सीमित भएको विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए । सरकारले सो खोप चीनबाट विशेष विमानमार्फत ल्याएको थियो । १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै लगाउन मिल्ने यसको म्याद अबको ७ महिनापछि सकिँदै छ । ‘यो खोप पहिलो र दोस्रो मात्रा खोपको रूपमा प्रयोग गर्न मात्रै सकिन्छ,’ उनले भने, ‘नेपालमा पहिलो, दोस्रो मात्रा लक्षित समूहले पूर्ण रूपमा लगाइसकेको अवस्थामा यो खोप लगाउन सकिएन ।’ विश्व स्वास्थ्य संगठनले सिनोभ्याक–कोरोनाभ्याक खोपलाई बुस्टरका रूपमा प्रयोग अनुमति नदिएपछि भण्डारणमा सीमित भएको हो । सिनोभ्याक खोप पहिलो र दोस्रो मात्रा लगाएकाहरू बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको छ । त्यस्तै, यो खोपले अस्पताल भर्ना दर ६४.६ प्रतिशत घटाउने भनिएको छ । सरकारले विगतमा लक्षित समूहमध्ये ९९.५ प्रतिशतले एक मात्रा लगाएका छन् भने ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म बुस्टर डोज खोप एक करोड बढीले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कोभिड–१९ विरुद्धको खोप अधिकांशले लगाएकाले भण्डारमा रहेको खोप नेपालमा उपयोगमा नआउने चौरसियाले बताए । मन्त्रालयले पहिलो, दोस्रो मात्रा खोपका नलगाएका राष्ट्रमा उपलब्ध गराउन खोजे पनि त्यसको माग नभएको सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केन्द्रीय भण्डारणमा स्टक रहेको ४० लाख मात्रा खोपबारे छलफल भइरहेको बताए । परिवार स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा र खोप सल्लाहकार समितिले स्वास्थ्य मन्त्रालयलाई के गर्ने भनेर मन्त्रालयलाई फाइल पठाएको छ । तर यसबारे निर्णय नभएको उनले बताए । डब्लुएचओले कोभिड–१९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको अवस्थामा अन्य राष्ट्रले खोप लैजाने सम्भावना पनि न्यून छ । विभागबाट प्राप्त विवरणअनुसार २०७८/७९ सम्म दातृ निकाय, को भ्याक्स सुविधा अन्य अनुदानबाट खोप प्राप्त गरेको हो । नेपालले प्राप्त गरेको ५ करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोपमध्ये २७ प्रतिशत खरिद गरेको थियो । ३३ प्रतिशत को भ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए । प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसेल, १६ प्रतिशत कोभिशिल्ड र अन्य ५० प्रतिशत प्राप्त गरेको थियो । सरकारले २०७७ पुस २० मा खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन स्वीकृत गरेको थियो । भारतको एक कम्पनीबाट कोभिशिल्ड २० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसेल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौता अनुसार ५९ लाख ३६ हजार ४ सय डोज, को भ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८ सय डोजसमेत गरी २ करोड १९ लाख ३७ हजार २ सय डोज खोप खरिद गरिएको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले जनाएको छ ।