असारे बालीसम्मलाई रासायनिक मल अभाव नहुने सरकारी दाबी, सरकारी गोदाममा मल, किसानलाई व्यापारीकै भर
रासंसा/काठमाण्डौ, बैशाख ७,
मुलुकमा रासायनिक मलको वितरण प्रणाली नमिल्दा सरकारी गोदाममा मल देखिए पनि किसान व्यवसायीकै भरमा छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग करिब ६५ हजार टन रासायनिक मल मौज्दात छ । किसानले भने सरकारी अनुदानभन्दा व्यापारीबाटै चर्को मूल्यमा किनेर गुजारा चलाइरहनुपरेको छ । पछिल्लो समय बजारमा नक्कली मलको बिगबिगी रहेको महासंघको दाबी छ । ‘अनुदानको मल गोदाममै थन्किएको छ, वितरण प्रक्रिया नमिल्दा किसानले पाएका छैनन्,’ उनले भने । अनुदानको रासायनिक मल विक्रेता व्यवस्था कार्यविधिअनुसार मलको कोटा प्रदेश सरकारले तोक्छ । नगरपालिका/गाउँपालिकाले कोटा वितरण गर्छन् । त्यसअनुसार सहकारीमार्फत किसानलाई मल वितरण गरिन्छ । तर वितरण प्रक्रियामै समस्या भइरहेको सरकारी अधिकारी नै स्विकार्छन् । ‘चैते धान रोपाइँ धमाधम छ, कतिपय ठाउँमा सकियो पनि । तर किसान सरकारी अनुदानभन्दा व्यापारीले बेच्ने मल किनेर गुजारा चलाउन बाध्य छन्,’ कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘व्यापारीले बिक्री गर्ने मलमा गुणस्तरकै समस्या हुन्छ ।’ ‘जहाँ धेरै किसान छन्, त्यहाँ कोटा निर्धारण थोरै भएको छ । नचाहिने ठाउँमा बढी कोटा तोकिएको छ, त्यसैले केही समस्या देखिएको छ,’ कृषि सामग्री कम्पनीका एक अधिकारीले भने, ‘कोटा वितरण प्रणाली नमिल्दा सरकारी गोदाममा स्टक देखियो । तर किसानले मल नपाउने समस्या उस्तै छ ।’ कृषि कम्पनीसँग करिब ३१ हजार टन युरिया र १४ हजार टन डीएपी मौज्दात रहेको ती अधिकारीले जनाए । २० हजार टन युरिया र २० हजार टन डीएपी मल आउने क्रममै रहे पनि डीएपी मल आयातमा फेरि समस्या देखिएको ती अधिकारीले बताए । ‘२० हजार टन डीएपी मल ३ दिनदेखि विशाखापट्टनममा रोकिएको छ । भारतले अनुमति नदिँदा आउन सकेन,’ ती अधिकारीले भने, ‘युरिया कोलकाता पोर्टमा आइपुगेको छ । एक सातामा युरिया आउन सुरु हुन्छ ।’ असारे धानबालीका लागि १ लाख ४० हजार टनको टेन्डर भइसकेको छ, जसमध्ये ९० हजार युरिया र ५० हजार डीएपीको टेन्डर भएको कम्पनीको दाबी छ । ‘यो मल साउन/भदौदेखि आउन सुरु हुन्छ । चैते धानका लागि युरिया र डीएपीको माग छ । पहाडमा मकैका लागि रासायनिक मल चाहिएको छ । मलको माग भए पनि सरकारी गोदामबाट बिक्री भने हुन सकेको छैन । कतिपय सहकारीले पनि बदमासी गरेको जानकारहरू बताउँछन् । ‘बिक्री रोक्का राखेर कृषि मन्त्रालयले मल स्टक देखाउन खोजे जस्तै भएको छ । जिल्लामा कोटाअनुसार बिक्री नहुँदा संघीय सरकारको समन्वयमा बिक्री खुला गरिदिनुपर्ने हो तर त्यसो गरिएन,’ कम्पनीका ती अधिकारीले भने, ‘व्यापारीको चलखेल र माफियातन्त्र हाबी छ । अनुदानको उपलब्ध नभएको स्थानमा कमसल मल ल्याएर बिक्री भइरहेको छ ।’ आपूर्तिकर्ताले म्याद नथपे र चलखेल नभए बर्खे धानबालीलाई समस्या हुन्न,’ ती अधिकारीले भने, ‘चलखेल भए असारे बालीका लागि फेरि समस्या हुन सक्छ ।’ युरिया र डीएपी मल आउने क्रममा रहे पनि भारतमै रोकिएकोबारे जानकारी नभएको कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद घिमिरेले बताए । साल्ट ट्रेडिङसँग पनि १३ हजार टन युरिया र ७ हजार टन डीएपी मौज्दात रहेको जनाइएको छ । थप २६ हजार ५ सय टन रासायनिक मल आउने क्रममा रहेको साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘२६ हजार ५ सय टन युरिया आजभोलिमै कोलकाता पुग्दै छ । १०/१२ दिनमा नेपाल भित्रिन सुरु हुन्छ,’ उनले भने । बर्खे बालीका लागि साढे ७ अर्बको थप ९२ हजार टन (युरिया ४७ हजार टन र डीएपी ४५ हजार) टेन्डर भएको उनले जनाए । ‘टेन्डर प्रक्रिया सकेर सम्झौताको काम सुरु भएको छ । चैतमा भएको टेन्डरको मल असारबाट आउन सुरु हुन्छ,’ राजभण्डारीले भने, ‘चैतमा अभाव भएन । असारे धानलाई पनि अभाव हुन नदिने प्रयासमा छौं ।’ साल्टका अनुसार विगतको तुलनामा रासायनिक मलको भाउ घटेको छ । अहिले युरिया प्रतिटन ४ सय १९ र डीएपी ६ सय ५६ डलरमा बिक्री भएको छ ।