घना बस्तीबीच वरिपरिका घर अग्ला भवन बनाउँदा चर्किंदै
रासंसा/काठमाण्डौ, बैशाख ५,
मुलुकमा काठमाण्डौको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्। भवन बनाउन थालेपछि काठमाडौं मोडल उच्च माध्यमिक विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ८९१ र ८९२ को क्षेत्रफल २–१–०–० मा साढे २ तला बेसमेन्ट र साढे ८ तलाको होटल निर्माण गर्नेगरी महानगरबाट नक्सा पास गरिएको थियो। छिमेकीले सँधियारहरूलाई क्षति पुर्याउने गरी भवन निर्माण गर्न लागेको र सुरक्षात्मक उपाय नअपनाएको भन्दै काठमाडौं महानगरमा २०७८ भदौ २९ गते निवेदनसमेत दिएका थिए। बनाउन थालिएको भवन महानगरले २०७८ पुस १२ गते मात्र निर्माणका लागि अनुमति दिएको थियो। काठमाडौं महानगर–२८ मा नक्सा पास नगरी भवन बनाउन थालिएको थियो। सँधियारको विरोधपछि होटल प्रयोजनका लागि भन्दै साढे आठ तलाको भवन बनाउन महानगरपालिकाबाट नक्सा पास गरिएको थियो। तर अहिले सो भवन साढे ११ तला पुगिसकेको छ। आफ्नै घरजग्गामा माइक्रो पाइल (एंकरिङ) गर्दा घरमा क्षति पुगेको भन्दै ८० वर्षे सँधियार मंगलमान श्रेष्ठले काठमाडौं महानगरमा उजुरीसमेत दिएका थिए। निर्माणाधीन भवनको उत्तरतर्फ कित्ता नम्बर २९७९ र २२६५ मा बनेका घरको गाह्रो, वाल, पर्खाल र ढलान चर्केको छ। घरको जग भासिएको र मानिस बस्न योग्य नभएकाले परिवार अन्यत्र डेरा सर्न बाध्य भएको भन्दै सँधियार महेन्द्ररत्न तुलाधरले वडा कार्यालयमा समेत उजुरी दिएका थिए। त्यसपछि क्षतिको सम्पूर्ण जिम्मेवारी कलेजले लिनेगरी सम्झौतासमेत भएको थियो। महानगरले २०७९ असार १२ गते ‘प्रतिवादीले कित्ता नम्बर ८९१ र ८९२ को क्षेत्रफल २–१–०–० को जग्गामा प्रचलित भवन निर्माण मापदण्डबमोजिम नक्सा पेस गरेकामा हाल सो नक्सा संशोधन गरी पेस गरेको साथै हाल फिल्डमा प्रोटेक्सन पाइल इन्स्टलेसनको काम गरेको भन्ने व्यहोरासमेतको २०७८ कात्तिक १७ गते पेस गरेको प्राविधिक प्रतिवेदनबाट देखिन्छ,’महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको इजलासबाट भएको निर्णयमा भनिएको छ, ‘पूर्व रिटेनिङ प्रोटेक्सन पाइल डिजाइन विथ मेथोडोलोजी प्रतिवादीबाट पेस गर्न लगाई सहरी व्यवस्थापन विभागमा रहेको जुरीबाट अध्ययन विश्लेषणपछि प्राप्त सुझावबमोजिम प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डअनुसार प्रतिवादीको नक्सा पास गर्नुपर्ने र भवन निर्माण गर्दाको चरणमा सँधियारहरूले भवन संरचनामा कुनै क्षति पुगेमा त्यसको व्यवस्थापनबाट प्रतिवादीबाटै हुनुपर्ने ठहर्छ। ’ स्थानीय प्रकाशवीर सिंह तुलाधरका अनुसार छिमेकीको स्वीकृतिबिनै भवन बनिरहेको छ। आर्किटेक इन्जिनियरसमेत रहेका तुलाधरले भवन बनाउँदा २० मिटर एंकरिङ गरिएको बताए। आफ्नो जग्गामा भवन बनाउने अधिकार भए पनि अरूलाई क्षति पुर्याउन भने नहुने उनको धारणा छ। घरहरू चर्किन थालेपछि भवन बनाउन रोक्का गर्न माग गर्दै छिमेकीले निवेदन दिएका थिए। त्यसपछि नगर प्रहरीले छानबिन गरेको थियो। तर ‘तपाईंहरू मिल्नुस् माथि जाँदैन’भनेर प्रहरी फर्किएको पीडित मंगलमोहन श्रेष्ठ बताउँछन्। सुरुमै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) गर्नुपर्ने भए पनि नक्सासमेत पास नगरी भवन बनाउन थालेको श्रेष्ठको भनाइ छ। शक्तिको आडमा कलेज सञ्चालकहरूले भवन बनाइरहेको उनको तर्क छ। कलेजका सञ्चालकमा रामेश्वर अर्याल, किशोर गौतमलगायत रहेका छन्। गौतमले आफू पीडितहरूसँग छलफलमै रहेको बताए। ‘दुईवटा घरले इन्स्योरेन्स गरेअनुसार पैसा पनि लिनुभयो। अब एउटा घरको मात्रै कुरा हो,’उनले भने, ‘एउटा घरलाई पनि हाम्रो भवन बनाउँदा वा हाम्रो कारणले नोक्सान भएको हुनाले पुरै नयाँ घर बनाइदिन्छौं भनेका छौं। तर उहाँहरूले भनेअनुसार ५० वर्षपहिले बनाएको घर दुरुस्तै बनाउन सकिँदैन। हामी नगरपालिकाको छलफलमा पनि बसेका थियौं। हाम्रो कारणले भएको क्षतिको मर्मतमा लागेको खर्च व्यहोर्ने भनेकै छौं। नगरपालिकामा छलफल भइरहेको छ। ’उनले छुट्टै इन्जिनियर राखेर क्षतिको मूल्यांकन गरी आफूहरूले तिर्ने भन्नेसम्मको छलफल भइसकेको बताए। आफूहरूलाई घरजग्गा बेच्न दबाबसमेत दिएको मंगलमोहनले बताए। ‘आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर हामी कहाँ जाने?’पीडित सँधियार जानकी तुलाधर प्रश्न गर्छिन्, ‘हामीले आमाबुवाको जग्गा किन बेच्ने, बेचेर हामी कहाँ जाने?’कलेज सञ्चालक किशोर गौतमले होटल म्यानेजमेन्टलगायत अरू पनि भवन बन्दै गरेको बताए। सो भवन होटल म्यानेजमेन्ट पढाउने प्रयोजनका लागि बनाउन लागिएको हो। ‘कति तलाको अनुमति लिनुभएको हो?’भनेर टेलिफोनमा सोध्दा उनले ‘आठ तलाको’भनेर जवाफ दिए। ‘भवन त ११ तला बनिसकेको छ त?’ भन्ने प्रश्नमा उनले ‘म ठ्याक्कै त्यहाँ गएको छैन। नक्सा पासअनुसारै बनिरहेको छ’भनेर जवाफ दिए। भवनबाट पीडित छिमेकीले भवन बनाउँदा घरजग्गामुनि डन्डी राखिएको र घरसमेत ढल्केको बताएका छन्। ‘घर बस्न नमिल्ने भइसकेका छन्। घरलाई बाहिरबाट टालेर हुँदैन। रेट्रोफिटिङ हुनुपर्छ,’आर्किटेक इन्जिनियरसमेत रहेका प्रकाशवीर सिंह तुलाधर बताउँछन्। ढल्केको घर बनाउन सकिँदैन। रेट्रोफिट भनेको भत्काएर नयाँ बनाउनुजस्तै भएको उनी बताउँछन्। ‘मेरो जग्गामा मेरो इच्छाअनुसार एंकरिङ गरेको छ। मेरो जग्गामुनि उनीहरूले डन्डी राखेका छन्। मलाई क्षतिपूर्ति दिनुपर्छ। मेरो घर तथा जग्गामुनि राखेको डन्डी झिकिदिनुपर्छ,’ जानकी तुलाधरको माग छ।