जहाज आउँदैन, विमानस्थललाई बजेट

Share to:

टिकाराम सिंह/जाजरकोट, बैशाख ५,

कुनै समय जहाजको टिकट लिन स्थानीय प्रशासनको सिफारिस चाहिने रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा झन्डै एक दशकदेखि जहाज उडान अवतरण भएको छैन। २०७० सालदेखि जहाज नआउँदा यो विमानस्थल बन्द जस्तै छ। तर, विभिन्न शीर्षकमा बजेट खन्याउन भने छाडिएको छैन। मुलुकमा दिनहुँ ब्यस्त हुने विमानस्थल अहिले सुनसान छ। चौरजहारी विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणहरूले सास्ती पाउने गरेका छन्। जहाज नआउने त्यही विमानस्थल सुधारका लागि भन्दै चालू आर्थिक वर्षमा केही रकम विनियोजन गरिएको छ। २०२८ सालमा सञ्चालनमा आएको यो विमानस्थलबाट जहाजको टिकट लिन जिल्ला प्रशासन कार्यालय रुकुम र जिल्ला प्रशासन कार्यालय जाजरकोटको सिफारिस चाहिन्थ्यो। सर्वसाधारणले टिकट पाउन निकै सास्ती हुन्थ्यो। २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो। ५ करोड ५९ लाख ४९ हजार रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। विमानस्थलको स्तरोन्नति भएसँगै जहाज आउन छोडेको स्थानीयको भनाइ छ। दैनिक नियमित रूपमा चौरजहारी–नेपालगञ्ज उडान हुने र हप्तामा दुई दिन चौरजहारी–काठमाडौं उडान हुने गथ्र्यो। दिनहुँ ब्यस्त हुने विमानस्थल अहिले सुनसान छ। विमानस्थल सञ्चालनमा नआउँदा बिरामी र अशक्तलाई निकै समस्या परेको स्थानीय खिमप्रसाद जैसीले बताए। २०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन। रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो। पछिल्लो पटक यो विमानस्थल बन्द जस्तै छ। विमानस्थल र टावर कुनैमा कर्मचारी, प्रहरी छैनन्। नेपाल वायुसेवा निगमको टुइनेटर जहाज आउने गर्थे। अहिले कुनै पनि जहाज आउँदैनन्। जहाज नआउँदा सिकिस्त बिरामीलाई समस्या पर्ने गरेको स्थानीय प्रेमप्रकाश केसीले बताए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिमको यही चौरजहारी विमानस्थल स्तरोन्नतिका लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा केही रकम विनियोजन गरेका छन्। सरकारले विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएपछि फेरि जहाज आउँछ कि भनेर स्थानीयवासी खुसी भएका छन्। स्तरोन्नति हुने खबरसँगै खुसी भएका स्थानीय जहाज आउँछ÷आउँदैन भन्ने चिन्तामा छन्। ‘भएकै एयरपोर्ट चलिरहेको छैन। जहाज आउँदैन’ स्थानीय सीता गोसाईंले भनिन् ।’ देशका विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै तत्कालीन अर्थमन्त्री शर्माले १२ अर्ब २४ करोड बजेट विनियोजन गरेका थिए। यसै बजेटबाट चौरजहारी विमानस्थलको पनि स्तरोन्नति हुने भएपछि स्थानीय खुसी भएका थिए। रुकुमपश्चिमको मुसीकोटमा सल्ले विमानस्थल पनि छ।

Like