प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा ११ पुसमा पहिलोपटक मन्त्रिपरिषद् गठन भएको थियो । त्यसबेला नेकपा एमालेसँग नेकपा माओवादी केन्द्रको सत्ता सहकार्य थियो । त्यसपछि ३ पुसमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए भने एमाले, राप्रपा, रास्वपाबाट सरकारमा मन्त्रीहरू थप गरिएको थियो । ११ पुसमा प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीका रूपमा सरकारमा गएका थिए । बललिँदो राजनीतिक अवस्थाका बीचमा गृहमन्त्रीका रूपमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका लामिछाने सरकारबाट बाहिरिँदा १४ माघमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यविभाजन हेरफेर गर्दै प्रधानमन्त्रीलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । त्यसपछि २३ माघमा रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीले समेत राजीनामा दिएका थिए भने रास्वपाका मन्त्रीको राजीनामा आएपछि तत्कालीन राष्ट्रपति भण्डारीले रिक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई नै दिएकी थिइन् । गत १३ फागुनमा एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य टुंगिएपछि नयाँ सत्ता गठबन्धन बनेको थियो । हालको सत्ता गठबन्धनमा १० दल सहभागी छन् । आज मन्त्रिपरिषद् विस्तार हुँदा यससहित तेस्रोपटक हुनेछ भने मन्त्रीको जिम्मेवारी हेरफेर र कार्यविभाजन चौथोपटक हुनेछ । त्यसअघि १४ र १६ फागुनमा राप्रपा र नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएपछि तत्कालीन राष्ट्रपति भण्डारीले रिक्त मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्रीलाई नै दिएकी थिइन् । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डा टुंगाएपछि सरकारमा नौ दल सहभागी हुने लगभग निश्चित भएको छ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले संख्या बाँडफाँट मिलेको र मन्त्रालयको नाम बिहीबार बस्ने गठबन्धन बैठकबाट टुंगिएपछि मन्त्रीको शपथ हुने जानकारी दिए । बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध शीर्ष तहको बैठकमा नौ दल सरकारमा सहभागी हुनेगरी मन्त्रालयको संख्या टुंगाइएको हो । तर, कुन दलले कुन मन्त्रालय पाउने भन्ने भने अझै टुंगिन बाँकी छ । मन्त्रालयको नामसमेत टुंगिएपछि बिहीबार (आज) मन्त्रीको नाम भने राजनीतिक दलहरूले प्रधानमन्त्रीलाई बुझाउनेछन् । ‘संख्यामा सहमति बनेको छ, कुन दलले कुन मन्त्रालय पाउने बिहीबार बिहान तय भएपछि सबै मन्त्रीको शपथ हुन्छ,’ जसपा नेता श्रेष्ठले गठबन्धन बैठकपछि सञ्चारकर्मीहरूसँग भने । यसैगरी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २-२ मन्त्रालयसहित सरकारमा सहभागी हँुदै छन् भने जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी १-१ मन्त्रालयसहित सरकारमा जाँदै छन् । यस्तै, आमजनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुँदै छन् । गठबन्धन आबद्ध दलहरूका बीचमा भएको सहमतिनुसार नेपाली कांग्रेस आठवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदै छ । यस्तै, नेकपा माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारी आफूले लिएर पहिले लिएकै संख्या पाँच मन्त्रालयमा चित्त बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो पटकसमेत विश्वासको मत दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारबाहिरै रहनेछ । नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् । कांग्रेसबाट राजेन्द्र केसी, दीपक खड्का, अजय चौरसिया, रामहरी खतिवडाले पनि मन्त्रीका लागि जोडबल लगाइरहेका छन् । एमालेले छाडेका आठवटा मन्त्रालय कांग्रेसले लिने र भागबन्डा मिलाउनुपर्ने अवस्थामा केही मन्त्रालय हेरफेर गर्ने कांग्रेसको तयारी छ । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् । यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् । यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्दै छिन् । यसैगरी, एमाले छाडेर ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचन जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दै छन् भने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव मन्त्री बन्दै छन् । यस्तै, जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खान हाल सरकारमा खानेपानीमन्त्री छन् । उनको जिम्मेवारी हेरफेर हुनसक्छ ।

Like