क्षतिपूर्ति दिनुपर्नेमा उल्टै निर्दाेष २२ जनामाथि मुद्दा, जलविद्युत् आयोजनाको दादागिरी कहिले सम्म हुने ?
रासंसा/सिन्धुपाल्चोक, चैत्र १२,
मुलुकमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाको दादागिरीपूर्ण व्यवहारका कारण स्थानीयबासी आतंकित छन् । जुगल गाउँपालिका–३ गुम्बा निवासी १४ वर्षीया नोर्जी वाङमु लामाको आफ्नै बारीमा आलु रोप्न लागिरहेको बेला विद्युत्को पोलबाट करेन्ट सर्ट हुँदा १५ फागुनमा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्युत् सर्ट हँुदा स्थानीय राजमान लामा र सोमरानी तामाङ गम्भीर घाइते भएका थिए । जलविद्युत् आयोजनाको लापरबाहीले करेन्ट लागेर दुई जनाको मृत्यु भएपछि स्थानीयले आयोजनासमक्ष क्षतिपूर्ति माग गरेका थिए । तर, आयोजनाले क्षतिपूर्ति दिनुको सट्टा सत्ताको आडमा उल्टै जनप्रतिनिधिसहित २२ जनाविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ । निर्दाेष जनतामाथि आयोजनाले मुद्दा दर्ता गरेपछि जुगल–३ गुम्बा आसपासका स्थानीय आतंकित भएका हुन् । जुगल गाउँपालिकाको नेसम खोलामा निर्माणाधीन नेसम खोला जलविद्युत् आयोजना र सो जलविद्युत् आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले जलविद्युत् निर्माणका लागि लापरबाही पूर्णरूपमा लगेको विद्युत्का तारका कारण सो घटना भएको जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण लामाले जानकारी दिए । जलविद्युत् आयोजनाले विद्युत्बाट सञ्चालन हुने मेसिन सञ्चालनलगायत आयोजनाका लागि आवश्यक विद्युत्का लागि प्रवाह गरेका तारहरू नांगो हुनु, नांगो तारबाट पटक पटक धुवाँ निस्कनुलगायतका कारणले पनि आयोजनाले विद्युत् लैजाँदा र आयोजना सञ्चालन गर्दा लापरबाही नै भएको तामाङले बताए । प्रहरी र आयोजनालाई सुरुमा नै घटनाको जानकारी गराउँदा पनि फेरि आयोजनाको लापरबाहीले १५ फागुनमा बालिकाको निधन भएको र दुई जना घाइते भएपछि स्थानीय आक्रोसित भएको हुन सक्ने वडाध्यक्ष तामाङले बताए । जलविद्युत् आयोजनामा कार्यरत मजदुर सरोज थारूको पनि ७ फागुनमा करेन्ट लागेर मृत्यु भएको थियो । आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयले आयोजना र प्रहरी कार्यालयमा समेत करेन्ट लागेर थप मानवीय र भौतिक क्षति नहोस् भनेर जानकारी गराइएको वडाध्यक्ष तामाङले जानकारी दिए । सीता हाइड्रोपावरका सञ्चालक सीताराम तिमिल्सिनाले जलविद्युत् आयोजनाको लापरबाहीका कारण बालिकाको मृत्यु नभएको दाबी गरे । ‘गृह मन्त्रालयले सह–सचिवको संयोजकत्वमा गठन गरेको सात सदस्यी छानबिन समितिले विद्युत् प्राधिकरणको लापरबाहीले बालिकाको मृत्यु भएको छ भने हामी कसरी दोषी भयौं ?’ तिमिल्सिनाले भने ‘हाम्रो कारण होइन, प्राधिकरणको गल्तीले बालिकाको मृत्यु भएको हो, यदि हामीले गल्ती गरेका रहेछौं भने सजाय भोग्न तयार छाैँ ।’ घटनाको वास्तविक छानबिन गरेर पीडित पक्षलाई न्याय दिनु र आगामी दिनमा थप घटना हुन नदिनका लागि राज्य र आयोजना पक्ष लाग्नुपर्ने भए पनि आयोजनाले सत्ताको चरम दुरुपयोग गर्दै जलविद्युत् आयोजनामा गएर तोडफोड गरेको आरोपमा वडाध्यक्ष तामाङसहित २२ जना स्थानीयविरुद्ध कुटपिट, तोडफोड तथा आगाजनी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । घटनाको वास्तविक छानबिन गरेर पीडित पक्षलाई न्याय दिनु र आगामी दिनमा थप घटना हुन नदिनका लागि राज्य र आयोजना पक्ष लाग्नुपर्ने भए पनि आयोजनाले सत्ताको चरम दुरुपयोग गर्दै जलविद्युत् आयोजनामा गएर तोडफोड गरेको आरोपमा वडाध्यक्ष तामाङसहित २२ जना स्थानीयविरुद्ध कुटपिट, तोडफोड तथा आगाजनी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनाले शक्ति र सत्ताको आडमा नेकपा एमालेका जिम्मेवार नेता कार्यकर्तालाई छानी छानी मुद्दा हाल्ने र दुःख दिन सुरु गरेको बताएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनाले शक्ति र सत्ताको आडमा नेकपा एमालेका जिम्मेवार नेता कार्यकर्तालाई छानी छानी मुद्दा हाल्ने र दुःख दिन सुरु गरेको बताएको छ । उनले संरचना नै तोडफोड गर्नेहरूलाई भने कारबाही हुनुपर्ने माग गरे । ‘आयोजना स्थल तोडफोड भएपछि हामी भागेर काठमाडौं आएर बसेका छौं, हामी अहिले असुरक्षित छौं, राज्य छ भने हाम्रो आयोजनामा हामीले सुरक्षित भएर काम गर्न पाउनुपर्छ,’ तिमिल्सिनाले भने । आयोजनामा अहिलेसम्म ३ अरब बढी लगानी भएको र थप ४ अरब लागनी भएपछि मात्रै विद्युत् उत्पादन हुने उनको भनाइ छ । आयोजनामा १२ करोडभन्दा बढीको क्षति भएको तिमिल्सिनाले दाबी गरे । जलविद्युत् आयोजनाका सञ्चालक सीताराम तिमिल्सिनाको निर्देशनमा गलत प्रतिवेदन तयार पारेर र केही सीमित व्यक्तिको उक्साहटमा लागेर राज्यपक्षबाट घटनास्थलमा नै नभएका नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मण दोङ, एमाले वडा कमिटी अध्यक्ष हिमाल तामाङसहित स्थानीय २२ जनाविरुद्ध मुद्दा दर्ता गरेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पीडितलाई न्याय दिनुको सट्टा घटनामा नै नभएका व्यक्तिलाई दुःख दिने नियतले मुद्दा दर्ता गर्नु आपत्तिजनक र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । जुगल गाउँपालिका–३ न्यासिम खोलाको पानीबाट विद्युत् निकाल्ने योजनाका साथ सीत हाइड्रोले विद्युत् विकास विभागसँग अनुमति लिएर २०७८ सालदेखि आयोजनाको काम सुरु गरेको थियो । २०८१ असारसम्म आयोजना सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । ‘हामी घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा अनुरोध गर्दछौं र स्थानीय जनतामाथि लगाइएको झुटा मुद्दा तत्काल फिर्ता लिनका लागि अनुरोध गर्दछौं,’ एमाले जिल्ला अध्यक्ष नेपालले भने । यसैबीच जुगल गाउँपालिका–३ का प्रमुख तीन राजनीतिक दलले पनि आयोजना र स्थानीयबीच भएको असमझदारी छलफलबाट समाधान गर्न आयोजनालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका वडास्तरका अध्यक्षहरूले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘तर आयोजनाले स्थानीयसँग लफडा गरेर कसरी आयोजनाको काम गर्न सक्छ ?’ स्थानीय जेपी सिलवालले प्रश्न गरे । आयोजनासँग स्थानीय स्तरमा गर्न सक्ने काम माग्दासमेत प्रशासन लगाएर स्थानीयलाई थर्काउने गरेको सिलवालको आरोप छ । ‘आयोजनाका कारण सयौं स्थानीयको घर खेत पहिरोमा परेको छ, हामी आयोजनाविरोधी होइनौं तर हामीलाई नै पेलेर, मुद्दा हालेर गरिने विकासले कसलाई फाइदा गर्छ ?,’ जुगल–३ का वडाध्यक्ष लक्ष्मण दोङले प्रश्न गरे । ‘आयोजनाको लापरबाहीले स्थानीयको ज्यान जाने, क्षतिपूर्ति माग्दा मुद्दा खेप्नुपर्ने अनि स्थानीयलाई पेलेर आयोजना कसरी अगाडि बढ्न सक्छ ?,’ सिलवालको प्रश्न थियो ।