कांग्रेसको गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह
रासंसा/कास्की, चैत्र १२,
मुलुकमा नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आग्रह गरे। ‘माओवादीले साथ छाडिसकेको छ,’ उनले भने, ‘त्यसैले सरकार अल्पमतमा परिसक्यो। बहुमत जुटाउने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ।’ पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा पार्टीका शिर्ष नेताहरूले टुंग्याउने बताए। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने र पहिलो कार्यकाल आफूले पाउनुपर्ने माग गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेता पाण्डेले भने, ‘यो सबै केन्द्रले टुंग्याउँछ। शीर्ष नेताहरूबीच जे सहमति हुन्छ त्यो कार्यान्वयन हुन्छ।’ पाण्डेले काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, नियुक्ति र सरुवा बढुवालगायतका कार्य गर्नु न्यायोचित नहुने बताए। उनले वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने चेतावनी दिए। ‘हामी अल्पमतको सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन सचेत गराउँछौं र सो निर्णय कार्यान्वयन नगर्न पनि आग्रह गर्छौं,’ उनले भने। सरकारको नेतृत्वका लागि आलोपालो गर्न सहमत कांग्रेस गण्डकीले पहिलो कार्यकाल भने आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। पाण्डेले १० दलीय गठबन्धन बनेपछि नेपालको राजनीति सही लिकमा आएको बताए। छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उनको भनाइ छ। ‘तर सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ। यसले निर्वाचनपछि केही समय लिकबाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको छ,’ उनले भने।