नेतृत्व जिम्मेवार कि परिस्थिति ? एक्लियो एमाले
रासंसा/काठमाण्डौ, चैत्र ७,
मुलुकमा चैत्र ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा पनि एमालेको नियति उस्तै भयो । सत्ता गठबन्धनका उमेदवार रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भए । एमाले उमेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार पाइन् । शाक्य एमालेको पुरानो र तुलनात्मक रुपमा स्वच्छ छवि भएको नेता हुन् । तर एमालेले राष्ट्रपति र उपारष्ट्रपतिको निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दलको समर्थन जुटाउन सकेन । तत्कालीन पाँच दलीय गठबन्धन भत्काएर पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर नाटकीय रुपमा सत्ता राजनीतिमा फर्केको संसद्को दोस्रो ठूलो दल एमाले फागुन २५ को राष्ट्रपति निर्वाचनमा एक्लै भयो । राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाए । नेम्वाङ संविधानसभाका अध्यक्ष समेत भएका नेता हुन् । त्यतिमात्रै होइन सातै प्रदेशको सत्ता राजनीतिमा पनि एमाले एक्लो हुने देखिएको छ । पार्टीभित्रै बहस सुरु भएको छ–पुस १० देखि चैत्र ६ सम्म आउँदा एमाले एक्लै हुनुपर्ने अवस्था किन आयो ? एमालेका नेताहरुले ‘राष्ट्रियता’ पक्षधर शक्तिलाई एक्लाउन देशी–विदेशी शक्तिले षड्यन्त्र गरेको दाबी गर्छन् । देशमा सबल राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्न चाहेको एमालेलाई रोक्न सबै शक्ति एक भएको तर्कपनि सार्वजनिक रुपमा नै गर्दै आएका छन् । दाहालको बेइमानी, वाहृय चलखेल र कांग्रेसको दोहोरो भूमिकालाई पनि एमाले नेताहरु जिम्मेवार ठान्छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवाली त्यसको मुख्य जिम्मेवार माओवादी केन्द्र रहेको बताउँछन् । पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत दिएपछि एमालेमाथि दबाब बढेको थियो । उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर सरकारमाथि दबाब सिर्जना गरेको बुझाईमा रहेका प्रधानमन्त्री दाहाल एमालेसँग लामो सहकार्यका पक्षमा थिएनन् । त्यसमा ओलीले संसद् विघटन गर्नु जायज भनेपछि दाहाल झस्किए । यो कुरा उनले सोमबार दोस्रोपटक विश्वासको मत लिनेक्रममा प्रतिनिधिसभाको रोष्ट्रमबाटै भने । संसद् विघटनलाई जायज पुष्टि गर्ने ओलीको अभिव्यक्तिले आफूलाई गठबन्धन अब टिक्दैन भन्ने लागिसकेको दाहालले उल्लेख गरे । ‘यसपटक गठबन्धन बनाउँदा नै हामीलाई थाहा थियो कि त्यसका मुख्य सहयात्रीहरु अविश्वसनीय छन् । विगतमा पनि उहाँहरुबाट हामीले धोका खाएकै थियौं’ उपमहासचिव ज्ञवालीले भने, ‘तर पनि मुलुकले राजनितिक स्थिरता लियोस् भनेर हाम्रो इमान्दार प्रयास थियो । तर माओवादी केन्द्र सत्ताको दुषित खेलमा लाग्यो । यो परिस्थिति निर्माण हुनुमा माओवादी केन्द्र जिम्मेवार छ ।’ उनका अनुसार राष्ट्रिय मुद्दामा भने एमाले एक्लो छैन । ‘कहिलेकाँहि घटनाक्रम र कुनै विशेष मुद्दामा राजनीतिक पार्टीहरुले आफ्ना एजेण्डा एक्लै लिएर अगाडि बढ्नुपर्ने हुनसक्छ,’ ज्ञवालीले भने, ‘तर हामीले उठाई रहेका समग्र राष्ट्रिय राजनीतिका मुद्दामा एक्लै छैनौं ।’ नागरिक अगुवा श्याम श्रेष्ठ एमाले एक्लिनुमा संसद विघटनको कदम र सत्तास्वार्थ जिम्मेवार ठान्छन् । ‘नेपाल दलहरु को साथमा हुन्छ को साथमा हुँदैन भन्ने कुरा विचार, राजनीतिले तय गर्ने भएन । सत्ता स्वार्थले तय गर्ने भयो । स्वार्थ मिल्दा विचार नै नमिल्ने भएपनि भोट दिने, नमिल्दा विचार मिले पनि नदिने अवस्था नेपालमा देखियो,’ श्रेष्ठले भने, ‘एमालेले त आफैंले आफैंलाई एक्लाएको हो, संसद विघटन गरेर । त्यहाँदेखि एक्लिन सुरु भएको हो । नत्र एमाले एक्लिन पर्ने पार्टी नै होइन । त्यतिबेला एमालेलाई साथ दिएको लोसपालाई पनि नोक्सान भयो । हिजो एमालेलाई दह्रोसँग साथ दिएको हो राप्रपाले, अहिले दिएन ।’राप्रपा र रास्वपासमेत सहकार्य गर्न तयार नभएपछि एमालेका केही नेता मन्थनमा छन्, उनीहरु पार्टी एक्लिनुमा नेतृत्वको भूमिकामाथि प्रश्न गर्छन् । ‘संसद विघटनबाट नै हो । त्यो नभएको नेकपा जोगिन्थ्यो, एमाले फुट्ने थिएन । अहिले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएर जुन गठबन्धन बनेको थियो, त्यो जोगिन्थ्यो,’ स्थायी कमिटीका एक नेता भन्छन्, ‘राजनीतिमा नेतृत्वको पहलले धेरै पाउने र अहमले गुम्ने अवस्था हुन्छ । अहिले पनि त्यस्तै भयो ।’एमालेसँग दाहाल, देउवा र नेपाल मात्र होइन, चुनावमा गठबन्धन गरेका राप्रपा र जसपा पनि टाढा भएका छन् । रास्वपा र एमालेबीच पनि सहकार्य छैन । रास्वपा नयाँ सत्तागठबन्धनमै जोडिइसकेको छ । अब सरकारमै सामेल हुने तयारीमा छ । राप्रपा विपक्षी वेन्चमा आइपुगेको छ । तर एमालेसँग विगतको जस्तो हार्दिकता छैन । किनकि राप्रपाले राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मत हालेन । राजतन्त्रवादी पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा मत हाल्न नमिल्ने भन्दै पन्छियो । दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय गरेपछि त्यसको प्रतिरक्षामा उत्रिनेमा सबैभन्दा अगाडि थिए एमाले अध्यक्ष ओली । लामिछानेको बचाउमा उत्रेका ओलीले अदालतको फैसलालाई लिएर सार्वजनिक कार्यक्रमदेखि संसदको रोष्टमबाट पनि असन्तुष्टि पोखे । राष्ट्रपति निर्वाचनको मनोनयनकै दिन सत्ता गठबन्धनमा हेरफेर भयो । कांग्रेससहितको गठबन्धनबाट उम्मेद्वार बनेका रामचन्द्र पौडेल फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भए । एमालेले पौडेलको विरुद्ध पूर्वसभामुख सुवास नेम्वाङलाई मैदानमा उतारेको थियो । सरकारबाट बहिरिएपनि समर्थन कायमै राखेको लामिछाने नेतृत्वको रास्वपाले मतदानकै दिन पौडेललाई मतदान गर्ने निर्णय गर्यो । अदालतको फैसलापछि गृहमन्त्री गुमाउन बाध्य भएका लामिछानेले तत्काल नयाँ नागरिकता लिएपछि पुनः गृहमन्त्री बन्ने चाहना राखे र प्रधानमन्त्री पुष्पकमल दाहालसँगै निरन्तर संवाद गरे । प्रधानमन्त्री दाहालले फैसलाको पूर्णपाठ नआएसम्म लामिछानेलाई मन्त्रिपरिषद्मा लैजान नसकिने अडान लिए । अर्कोतर्फ लामिछानेलाई पुनः गृहमन्त्री बनाउन ओलीले पर्याप्त लबिङ गरे, तत्कालीन उच्चस्तरीय राजनीतिक संयन्त्रको हैसियतमा माथि दबाब दिईरहे । पहिलोपटक पनि लामिछाने ओलीकै चाहनमा गृहमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचन ताका गठबन्धनमा हेरफेर भएपछि राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो । एमालेले राप्रपाले राष्ट्रपति निर्वाचनमा आफूलाई सहयोग गर्ने अपेक्षा गरेको थियो । तर, राप्रपाले निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय लियो । उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरिसकेको छ । गएको संघीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँग चार क्षेत्रमा तालमेल गरेको थियो । एमाले उपाध्यक्ष युवराज ज्ञवाली गठबन्धन बनाएर प्राप्त गरेको उपलब्धी नेतृत्वले जोगाउन नसक्दा यस्तो स्थिति सिर्जना भएको तर्क गर्छन् । ‘बहुदलीय व्यवस्थापछि नेपालको राजनीतिमा नेतृत्वहरु उपलब्धी प्राप्त गर्न एकजुट हुने र सफल पनि हुने तर त्यसलाई जोगाउन नसक्ने आम चरित्र देखियो । ती उपलब्धीलाई देश र जनताको हितमा प्रयोग गर्ने भन्दा पनि आफ्नो दलगत, गुटगत र निजी स्वार्थलाई प्रयोग गर्न खोजियो,’ ज्ञवालीले भने, ‘यसपटक पनि दुवै अध्यक्ष (केपी शर्मा ओली र प्रचण्ड) ले गठबन्धन बनाउन राम्रो पहल लिनु भयो । त्यसलाई टिकाएर लैजानुपर्दथ्यो । सबै कुरा मिल्दै गएर राष्ट्रपति कसलाई बनाउने भन्ने कुराले टुट्यो, त्यो दुर्भाग्य भयो । तर नमिल्न पर्ने कारण थिएन ।’ ‘हामीले अलि बढि साथमा लिएका दुई राप्रपा र रास्वपा हुन् । राप्रपाले चुनावमा भाग नलिने भन्यो । त्यसमा उहाँहरु भित्रका आन्तरिक समस्या पनि छन् । रास्वपा र खासगरी रवि लामिछानेजीको अदालतमा विचाराधीन मुद्दाले मनोवैज्ञानिक त्रास दिएजस्तो लाग्छ,’ एमाले उपमहासचिव ज्ञवालीले भने, ‘त्यसकारण अहिलेको सरकारसँग दूरी बढाउँदा आफूलाई अफ्ठ्यारो पर्छ भनेर रविजी लागेको जस्तो देखिन्छ । त्यसबाहेक सामान्यतया हाम्रो समाजको मनोविज्ञान नजित्ने भइसकेपछि किन भोट हाल्ने भन्ने पनि देखिन्छ । त्यसमा हाम्रो गुनासो छैन ।’ चुनावमा एमालेसँग १७ सिटमा तालमेल गरेको जसपा अहिले सत्ता गठबन्धनमा प्रवेश गरेको छ ।