वर्ल्डलिंकले जुम्लालाई उच्च गतिको फाइबरनेटबाट जोड्यो
रासंसा/काठमाण्डौ, चैत्र ३,
मुलुकमा वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ। बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो। यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्डलिंक बनेको छ। जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले झण्डै ५ वर्षको मेहनतबाट वर्ल्डलिंकले यो सफलता पाएको बताए। उनका अनुसार कम्पनीले जुम्ला सदरमुकाममा उच्च गतिको फाइबर इन्टरनेट चलाउनका लागि १५ करोड रूपैयाँभन्दा धेरै लगानी गरेको बताए। काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने उल्लेख गर्दै जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अध्यक्ष अग्रवालले बताए। ‘जुम्लामा वायरलेस इन्टरनेट थियो, अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं। संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पूरै कर्णालीमा पुर्याइनेछ,’ अध्यक्ष अग्रवालले भने, ‘यसको लाभ कर्णाली बासीलाई हुनेछ। हामी नाफा कमाउनभन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्थ्यौं, सफल भयौं।’ इन्टरनेट सेवा विस्तारमा सरकारभन्दा अघि आफूहरू जुम्ला आउन सकेको भन्दै नेपालले अब कर्णाली प्रदेशलाई पनि आफूहरूले फाइबर नेटले जोड्ने बताए। वर्ल्डलिंक जुम्ला शाखाका अनुसार निकै ठूलो मेहनतपछि गत असारमा पहिलो पटक त्यहाँ एफटीटीएच फाइबर इन्टरनेट सेवा परीक्षण गरिएको थियो। जुम्ला बजारमा मात्रै ५ सय घरधुरीले इन्टरनेट सेवा लिइरहेका छन्। जुम्लामा अन्य इन्टरनेट सेवा प्रदायकले फाइबरनेट सेवा पुर्याउन सकेका छैनन्।