अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु – प्रधानमन्त्री प्रचण्ड
रासंसा/काठमाण्डौ, फाल्गुण २३,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताएका छन्। प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए। उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए। सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे। निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाए।