‘अस्ट्रेलियाले चिनियाँ सीसीटीभी क्यामेरा प्रतिस्थापन गर्ने’
एजेन्सी,
चीनमा निर्मित सुरक्षा क्यामराबाट हुनसक्ने सम्भावित सुरक्षा खतराका बीच अस्ट्रेलियाले ती क्यामेरा हटाउने निर्णय गरेको अस्ट्रेलियाली प्रकाशन ‘द एज’ले जनाएको छ। द एजले मङ्गलबारको समाचारमा लेखेको छ, “ग्रेटर जिलोङ सहरले चिनियाँ निर्मित सीसीटीभी क्यामेराहरू प्रतिस्थापन गर्दैछ किनकि यस्ता उपकरणहरूको निर्माताहरूले सोधेमा बेइजिङलाई तथ्याङ्क हस्तान्तरण गर्न बाध्य छन्।” भिक्टोरिया प्रहरीले विदेशी गुप्तचर सूचना सङ्कलनलाई रोक्नका लागि अर्को वर्षको अन्त्यसम्ममा चीनमा निर्मित सबै क्यामेरा प्रतिस्थापन गर्ने पुष्टि गरेको छ। द एजका अनुसार प्रहरीले अझै पनि राज्यभरि धेरै क्यामेराहरू सञ्चालन भइरहेको र कम जोखिमको रूपमा विचार गरिएको भए तापनि क्रमिक रूपमा प्रतिस्थापन गरिने बताएको छ। उनले भने, “म अझ धेरै तात्कालिकता हेर्न चाहन्छु । यदि यो राष्ट्रिय सुरक्षाको खतरा हो भने, यसलाई सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन।” भिक्टोरियन लिबरल सिनेटर जेम्स प्याटर्सनले सिनेटको अनुमानमार्फत सङ्घीयस्तरमा यस मुद्दालाई अगाडि बढाइरहेका छन्। उनले भिक्टोरिया प्रहरीले २०२४ को अन्त्य अघि सबै चिनियाँ निर्मित क्यामेराहरू प्रतिस्थापन गर्न चाहेको बताए। यस हप्ताको सुरुमा भिक्टोरियाली प्रशासनले सरकारी स्वामित्वमा रहेका स्थानहरूमा रहेका सबै सुरक्षा क्यामेराहरूको अनुगमन गर्ने बताएको थियो। भिक्टोरिया प्रहरीका प्रवक्ताले चिनियाँ निर्मित क्यामेराको विषयमा भइरहेको बहसबारे प्रहरी जानकार रहेको बताएका छन्। उनले भने, “राज्यभरि चीनमा निर्मित थुप्रै क्यामेराहरू प्रयोग भइरहेका छन् र यिनीहरूलाई क्रमिक रूपमा प्रतिस्थापन गरिँदैछ।” सङ्घीय सरकारले यसअघि नै कमनवेल्थ विभाग र अष्ट्रेलियन वार मेमोरियलजस्ता स्थानबाट चीनमा निर्मित सयौँ उपकरण हटाइसकेको द एजले जनाएको छ। “सन् २०२४ को अन्त्यसम्ममा क्यामेराहरू प्रतिस्थापन हुने अपेक्षा गरिएको छ,” उनले भने। चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले बनाएका उपकरणहरू बेइजिङले ‘फेसियल रिकग्निसन टेक्नोलोजी’लाई बढावा दिन र उइगुर अल्पसङ्ख्यकहरूलाई जबरजस्ती र नियन्त्रण गर्न गरेको भनी अमेरिका र सहयोगी राष्ट्रहरूले यसलाई निगरानीको सूचीमा राखेका छन्। अमेरिका र बेलायतले यी उत्पादनहरूलाई सरकारी स्थानहरूमा प्रतिबन्ध लगाइसकेका छन्, अमेरिकी सङ्घीय सञ्चार आयोगले सम्भावित जासुसी र स्पाइवेयरका कारण ‘राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम’ को चेतावनी दिएको छ । स्याडो साइबर सेक्युरिटी मिनिस्टर जेम्स प्याटर्सनले गरेको सर्भिलेन्स इक्विपमेन्टको अडिटमा चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले निर्माण गरेका नौ सयभन्दा बढी उत्पादन सरकारी स्थानमा जडान गरिएको पुष्टि भएको छ। यसैबीच, हिक्भिजनले उक्त कम्पनी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्ने कुरा सरासर गलत भएको बताएको पनि द एजले उल्लेख गरेको छ ।