स्वयम्भूमा सरस्वती पूजा
रासंसा/काठमाण्डौ, माघ १२,
मुलुकमा आज देशभर श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ सँगै विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। आजका दिन विवाह,व्रतबन्ध,गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यसैक्रममा विश्व सम्पदा सूची स्वयम्भूनाथस्थित सरसस्वती मन्दिर परिसरमा देवी सरस्वतीको पूजा गर्न आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। उपत्यकाका स्वयम्भू,मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती,ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन,खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भइ विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।