सयौं बालबालिकाकी आमा हुन उपसभामुख निर्वाचित इन्दिरा

Share to:

रासंसा/काठमाण्डौ, माघ ७,

मुलुकमा प्रतिनिधिसभा सभामुखमा देवराज घिमिरे निर्वाचित भएको झापा क्षेत्र नम्बर २ बाटै उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छिन्। सभामुख घिमिरे झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन भने उपसभामुख रानामगर समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्य हुन्।दुवै जना अर्जुनधारा नगरपालिका बासिन्दा हुन्। रास्वपाकी सांसद शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक बन्द सूची हुँदै प्रतिनिधि सभा सदस्य बनेकी रानामगर सत्ता साझेदार दलका तर्फबाट उपसभामुख उम्मेदवार बनिन्। शनिबार संसद् भवनमा उपसभामुख पदका लागि भएको निर्वाचनमा रानामगरले बहुमतका साथ निर्वाचित भइन्। रानामगरले १६६ मत ल्याउँदा कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरिन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए।जसमध्ये १ सांसद तटस्थ बसे । त्यस्तै यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए । मध्यम वर्गीय परिवारमा जन्मिएकी झापा अर्जुनधारा नगरपालिका- ११ देउनियाँ बस्ती सालबारी निवासी ५२ वर्षीया इन्दिरा राना मगर संर्घषशील नारीले परिचित छिन्। आफू बुझ्न सक्ने भएपछि दाजुले पढेको देखेर बस्तु चराउन जाँदा झिँजाले लेख्न सिकेकी इन्दिराले अन्ततः एकै पटक कक्षा ५ मा भर्ना भई पहिलो पटकमै कक्षा प्रथम भएकी थिइन्। १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेकी इन्दिराले त्यसपछि उच्च शिक्षा अध्ययनका लागि दमक गइन्। इन्दिराको आमा बुबासँग त्यति बेला न उनलाई पढाउने पैसा थियो।उनको परिवारको आर्थिक अवस्था बुझेर त्यस बेला क्याम्पसका सरहरूले छात्रवृत्तिको व्यवस्था मिलाएर उनलाई क्याम्पस भर्ना गरिदिएकी थिइन्।२०४७ सालमा उच्च शिक्षा अध्ययनका लागि उनी झापाबाट काठमाडौँतर्फ लागिन्। ग्रामीण परिवेशमा हुर्किएकी इन्दिरा गैरलाभकारी संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’की संस्थापक अध्यक्ष हुन्। वि.सं. २०२७ सालमा झापाको साबिक शनिश्चरे गाविस-६ बुवा प्रतापसिंह र आमा मनमाया मगरकी कान्छी छोरीका रुपमा इन्दिरा जन्मिएकी थिइन्।पढ्ने इच्छा हुँदाहुँदै गरिबी तथा अशिक्षाकै कारण ११ वर्षको उमेरसम्म इन्दिरा विद्यालय जान पाइनन्। काठमाडौँ गएर पब्लिक यूथ क्याम्पसमा भर्ना भइन्।काठमाडौँमा खान र बस्न समस्या भएपछि उनी एउटा निजी कम्पनीमा काम गरिन्। २०५३ सालमा स्नातकसम्मको अध्ययन पूरा गरेकी उनले मार्केटिङमा स्नातक गरेकी छिन्। समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी उनले सन्तानको लालन पालनका कारण स्नातकोत्तर पूरा गर्न सकिनन्। अध्ययनकै क्रममा मानवअधिकारवादी संस्था हुरानको उपाध्यक्ष तथा साहित्यकार पारिजातसँग उनको भेट भयो।पारिजातसँगको भेटपछि नै उनको जीवनले नयाँ मोड लियो। सन् २००० मा ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ को स्थापना गर्दै सामाजिक क्षेत्रमा सक्रिय भएर लागेकी इन्दिरा कामकै दौरानमा सन् २०१४ मा स्विडेनकी महारानी सिल्भियाद्वारा विश्व बाल सम्मान पुरस्कारबाट सम्मानित भइन्। पारिजातसँगै केन्द्रीय कारागार आउजाउ बढेसँगै त्यहाँ रहेका कैदीबन्दीका नानीहरूलाई पढाउन सुरु गरेर पर्यन्त कैदी बन्दीकै छोराछोरीको हेरचाह र पढाइ लेखाइमा उनी निरन्तर लागि रहिन्। पारिजातसँग स्वयंसेवकका रुपमा काम गरेर सामाजिक सेवामा प्रवेश गरेकी उनले कैदीबन्दीका सन्तानको रेखदेख र पालनमा नै सन्तुष्टि मिलेको बताउँदै आएकी थिइन्। बन्दी अभिभावकका बालबालिकाको शिक्षादीक्षामा काम गर्ने इन्दिराले काठमाडौँ नयाँ बजार, साँखु, पाल्पा र झापाका बन्दी सहायता नेपालका शाखा सञ्चालनमा ल्याएर सयौँ बालबालिकालाई निःशुल्क आवास सहितको शिक्षा प्रदान गरिरहेकी थिइन्। बन्दी सहायता नेपालको स्थापना पछि देशभरका ७० भन्दा बढी कारागारमा रहेका कैदीबन्दीलाई उनले सेवा प्रदान गरिरहेकी थिइन्। सन २००५ मा प्रतिष्ठित अशोक फेलोसिप अवार्डबाट सम्मानित भएपछि, उनले सोही पुरस्कारको रकम संस्थाको पूर्वाधार निर्माण, आफ्नो सङ्गठन विस्तार गर्न र बालबालिकाको कल्याणका लागि प्रयोग गरिन्।तीन वर्षको लागि मासिक तीन सय डलर उनका लागि वरदान साबित भएको थियो।उनी दर्जनौँ पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भइसकेकी छिन्। उनको कामको उच्च मूल्याङ्कन गर्दै बिबिसीले उनलाई सन् २०१७ मा संसारका १०० महिलाको सूचीमा आबद्ध गरेको थियो।उनले सञ्चालन गरेको वन्दी सहायता नेपालमा रहेका बालबालिका मध्ये ठुला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाइ-बुनाइ, कृषि जस्ता आयमूलक काम पनि सिकाऊ थिइन्।उनकी एक मात्र छोरी सुवानी आले मगरले मात्र होइन इन्दिरालाई अहिले पाँच सय भन्दा धेरै बालबालिकाले आमा भनेर बोलाउँछन्।उनको संस्थामा अहिले देशका विभिन्न ठाउँमा रहेका बन्दी सहायता नेपालमा १९० जना बालबालिका आश्रित छन्। कारागारको बालबालिकाको हेरचाहको क्रममा यही वर्ष उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइन्।पार्टीले उनलाई समानुपातिक बन्द सूचीबाट प्रतिनिधिसभा सांसद बनाएर उपसभामुख सम्म बनाइन्।

यी पुरस्कारबाट सम्मानित भइन् इन्दिरा
-सन् २००५ मा प्रतिष्ठित अशोक फेलोसिप अवार्डबाट सम्मानित
-सन् २०१० मा एशियाई -२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार
-सन् २०१४ मा स्विडेनकी महारानी सिल्भियाद्वारा विश्व बाल सम्मान पुरस्कारबाट सम्मानित।
-सन् २०१४ मा होनरी अवार्डबाट सम्मानित
-बिबिसीद्वारा सन् २०१७ मा संसारका १०० महिलाको सूचीमा सुचीबद्ध ।
– सन् २०२० मा अन्तर्राष्ट्रिय मानवतावादी अवार्डबाट सम्मानित ।
-सन् २०१४ मा लीलाराम -कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार
-सन् २०१३ मा नईखरुगौरब पुरस्कार, उत्कृष्ट समाजसेवी पुरस्कार, शान्ति दूतका रूपमा विश्व शान्ति महासङ्घबाट सम्मानित, नवतालश सङ्घर्षरत महिला विकास पुरस्कार, नवतालश सङ्घर्षकारी महिला पुरस्कार र सामाजिक विकास पुरस्कार ।
– सन् २०२२ मा कोभिडमा खाना खुवाउने निःस्वार्थ समर्पणका लागि ३६० प्रभाव पुरस्कारबाट सम्मानित
– प्रतिनिधिसभा सांसद बनेपछि भर्खरै झापा कारागारस्थित बन्दी विकास पुस्ताकालद्धारा सम्मान प्रदान ।

Like