भारतको गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री
एजेन्सी,
विश्वमा भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ। भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ। भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भूपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको शपथ लिन लागेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित साह गान्धी नगरमा हुने शपथग्रहण समारोहमा सहभागी हुने बताइएको छ। गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ। देसाईले भने, ‘भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ। गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा त्यसै बैठकमा गरिनेछ।’भाजपाले गुजरातको कुल १ सय ८२ सिटमध्ये १ सय ५६ सिट जितेको छ। सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ।