अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

पहिलो त्रैमासमा व्यापार क्षेत्र ऋणात्मक, ३.२ प्रतिशत आर्थिक वृद्धि

Share to:

रासंसा/काठमाण्डौ, पौष २८,

मुलुकमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा अर्थतन्त्रको विस्तारमा सुधार देखिएको छ । तर गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक गतिविधिमा अपेक्षित सुधार हुन नसकेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा प्रतिवेदनले पहिलो त्रैसासमा मुलुकको आर्थिक वृद्धिदर ३.२ रहेको प्रारम्भिक अनुमान गरेको हो । ‘गत वर्षको पहिलो त्रैमाससँगको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ३.२ प्रतिशतले बढे पनि गत वर्षको चौथो त्रैमासको तुलनामा यस वर्षको पहिलो त्रैमासमा १.४ प्रतिशतले ऋणात्मक देखिन्छ,’ रेग्मीले भने, ‘प्रतिवेदनले अर्थतन्त्रमा उल्लेख्य सुधार नभए पनि सुधारको बाटोमा रहेको र सन्तोषजनक प्रगति भएको देखाएको छ ।’ प्रतिवेदनका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा ४.३ प्रतिशतले आर्थिक विस्तार भएको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने ३.२ प्रतिशतले नै आर्थिक वृद्धि भएको कार्यालयको तथ्यांक छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि तुलनात्मक रूपमा राम्रो रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत थियो । तर यस वर्ष ५ प्रतिशतभन्दा बढी नै आर्थिक वृद्धि हुने अर्थमन्त्री प्रकाशशरण महतको दाबी छ । राष्ट्र बैंकले पनि चालु आर्थिक वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तुलनात्मक रूपमा आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर कम हुने र त्यसपछिका त्रैमासमा क्रमशः बढ्दै जाने भएकाले आउँदा त्रैमासमा आर्थिक गतिविधिमा थप सुधार आए सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्य भेटाउन सकिने प्रवक्ता रेग्मीले बताए । चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तर गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो । आगामी वर्षमा भने नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खानी तथा उत्खनन क्षेत्रको विस्तार सबैभन्दा धेरै १५.८ प्रतिशत र खुद्रा तथा थोक क्षेत्रको विस्तार सबैभन्दा कम १.२ प्रतिशतले ऋणात्मक छ । मुलुकको समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुहरूमा आएको कमीका कारण यस क्षेत्रको वृद्धिदरमा कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्ट्याएको छ । पहिलो त्रैमासमा वित्तीय मध्यस्थता क्षेत्रको विस्तार १३.२, निर्माण क्षेत्रको विस्तार ११.४ र आवास तथा सम्बन्धित क्षेत्रको विस्तार ११.७ प्रतिशत रहने प्रतिवेदनले देखाएको छ । ‘अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।’ प्रतिवेदनमा समेटिएका १८ वटा आर्थिक क्रियाकलापमध्ये गत आर्थिक वर्षको चौथो त्रैमास (वैशाख, जेठ र असार) को तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा १२ वटा क्षेत्रको गतिविधिमा सुधार भएको छ भने ६ वटामा संकुचन आउने प्रारम्भिक अनुमान छ । ‘निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुंगाको उत्खननको कुल मूल्य अभिवृद्धि तुलनात्मक रूपमा थोरै भएकाले निर्माण क्षेत्रको ११.४ प्रतिशतको वृद्धिले यस क्षेत्रको उत्पादनमा बढी प्रभाव पारेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘वित्तीय तथा बिमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३.२ प्रतिशतले विस्तार हुने देखिन्छ ।’ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले आवास तथा भोजन सेवा क्षेत्रमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव परेको देखिन्छ । ‘यस अवधिमा पानी आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धि ७.३ प्रतिशतले विस्तार हुने देखिन्छ । सोही अवधिमा मुख्यतः वित्तीय तथा बिमा सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा सञ्चार क्षेत्रमा सुधार आउने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर सोही अवधिमा विद्युत् उत्पादनमा कमी भएकाले विद्युत् तथा ग्यास क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबैभन्दा धेरै २१.९ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।’ ‘अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन,’ सर्वेक्षणमा भनिएको छ, ‘समग्र बजार माग खस्किएको छ, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ, उद्योगको कच्चापदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।’ केही साताअघि नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको एक सर्वेक्षणले भने अर्थतन्त्रमा सुधार नभएको देखाएको छ । अर्थतन्त्रका सूचकमा झिनो सुधारका संकेत देखिए पनि बजार माग, लगानीकर्ताको आत्मविश्वास, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा सुधार नभएकाले समग्र आर्थिक गतिविधि सुध्रिएका रूपमा विश्लेषण गर्न नहुने परिसंघको तर्क छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा अर्थतन्त्रको वास्तविक अवस्थाबारे परिसंघले गरेको एक सर्वेक्षणले अर्थतन्त्रमा सुधार नभएको देखाएको हो । सरकारले प्रस्तुत गरेको अर्थतन्त्रको तथ्यांक र जिकिर जनस्तर, निजी क्षेत्र एवं सञ्चारमाध्यमले गरिरहेको अनुभव तथा तथ्य–विश्लेषणहरूसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न आफूले व्यवसायस्तरमा एक सूक्ष्मस्तरमा क्षेत्रगत सर्वेक्षण गरेको परिसंघले जनाएको छ । सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन समेटिएको छ ।

Like