आयोगले फेरि सोध्यो हाम्रो नेपाली पार्टीका शिवशंकरलाई स्पष्टीकरण
रासासंसा/काठमाण्डौ, कार्तिक २४,
मुलुकमा प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । ‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’ स्पष्ट पार्न आयोगले भनेको छ । आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ ।