अर्थतन्त्रमा सुधार ल्याउने र बजेट कार्यन्वयन गर्ने काम गर्छु – अर्थमन्त्री शर्मा
रासंसा/काठमाण्डौ, श्रावण १६,
मुलुकमा अर्थमन्त्री जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन्। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको बताए। उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाए। मन्त्री शर्माले गत आ.व.को बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताए। उनले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने बताए। मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताए। मन्त्री शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिनुभएको थियो तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो। उनले भने,‘ विश्व आर्थिक अवस्था विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ। यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सवलिकरण गर्नुपर्ने आवश्यकता छ। सवलिकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ। त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर लैजाने र आत्मनिर्भरको दिशातिर लैजाने प्रतिवद्धता जनाउन चाहन्छु। जाने दोस्रो कुरा मैले बजेट कार्यान्वय गर्ने जिम्मेवारी दिनुभएको छ। हामीले करिव एक वर्ष जसरी सहकार्यको आधारमा काम अगाडि बढाएका थियौँ। अबका दिनमा पनि यहाँहरुसँग सहकार्य गर्ने काम गर्नेछौं। गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा कहाँकहाँ कमिकमजोर भए त्यसलाई समिक्षा गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नेछौं।’