उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम राप्रपाले भदौ महिनामा सञ्चालन गर्ने
रासना/काठमाण्डौ, श्रावण ७,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसैगरी गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न राप्रपाले माग गरेको छ।


पार्टीको शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम सम्पन्न भएपछि भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। महंगी नियन्त्रण गर्न नसक्दा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको भन्दै पार्टीले सरकार असफल भएको ठहर गरेको छ। अत्याधिक महंगी भएका हुँदा सर्वसाधारणलाई समस्या परेकाले गरिब एवम् असहायालई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ। बैठक काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको थियो। बिहीबारदेखि सुरू भएको बैठक शनिबार सकिएको हो।
