भारतबाट पेट्रोलको मूल्य बढेर आयो, मुलुकमा पनि मूल्य बढ्ला त ?

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,

मुलुकमा निरन्तरको मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहेको बेला इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य फेरी बढेर आएको छ। अघिल्लो साता मूल्य बढेर आएपछि नेपाल आयल निगमले मूल्य बढाएको थियो। नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। पेट्रोलको लागत मूल्य प्रतिलिटर मूल्य २ सय २ रुपैयाँ ९३पैसा, डिजेलको प्रतिलिटर १ सय ८२ रुपैयाँ ७३ पैसा रहेको छ। अहिले निगमले पेट्रोल लिटर १ सय ८० र डिजेल लिटरको १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ। आईओसीबाट आएको मूल्यका आधारमा नेपाल आयल निगमले मूल्य निर्धारण गर्छ। आईओसीबाट १ जुनमा प्राप्त मूल्य अनुसार इन्धनको मूल्य थपघट भएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। तर, डिजेलको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ। पेट्रोल, मट्टितेलको मूल्य वृद्धि, डिजेलको मूल्य घटे पनि निगमलाई अझै १५ दिनमै ३ अर्ब ७ करोड घाटा रहेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए। ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ घटेर आए पनि ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

Like