प्रचण्ड बुधबारबाटै रीलाई भोट हाल्न भरतपुरमा

Share to:

रासंसा/चितवन, बैशाख २९,

मुलुकका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडक मार्ग हुँदै बुधबार दिउँसो चार बजेतिर भरतपुर आएका थिए। भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी छोरी रेनु दाहालाई भोट हाल्न भरतपुर आएका हुन्। निर्वाचन आउन दुई दिनअघि नै चितवन आएका प्रचण्डले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। उनी बुधबार (बिहान) माडी समेत पूगेर फर्किएका छन्। तर, माडीमा कुनै कार्यक्रमको योजना नभएको नेकपा (माओवादी केन्द्र)का नेता यमबहादुर परियारले बताए। प्रचण्ड पत्नी सीता दाहालसहित चितवन आएका हुन्। यहाँआएसंगै विभिन्न व्यक्तित्वसंग भेटघाट गरेका छन्। तर, कार्यकर्ता भेटघाटमा नरहेको माओवादी नेता सुरेशचन्द्र अधिकारीले बताए। ‘मौन अवधि भएकाले बाहिर निस्कनु भएको छैन्। घरमा नै आराम गर्नुभएको छ,’अधिकारीले भने, ‘घरमा आउनेहरुसंग भेटघाट भैरहेको छ।’ प्रचण्डले निर्वाचनको तयारीको विषयमा सम्बन्धित निकायसंग परामर्श समेत गरेको बुझिएको छ। ‘बिहान माडी पुगेर फर्कनु भएको हो। औपचारिक कार्यक्रम केही थिएन्,’ उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्र भएकाले गतिविधि बुझ्न गएको हुनसक्छ।’ उनी माडीको होटल प्याराडाइजमा पुगेर फर्किएको स्रोतले बताएको छ। माडी नगरपालिकामा नेकपा (माओवादी)को भागमा नगरपालिका प्रमुख पद परेको छ। त्यहाँबाट गठबन्धनले माओवादीका ऋषि काफ्लेलाई प्रमुख पदमा उठाएको छ। प्रचण्ड सुरक्षाकर्मीको स्कटिङसहित माडी पुगेका थिए। एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन्। उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन्। उनले स्थानीय नारायणी नमुना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन्। एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए। प्रचण्ड मतदान गरेपछि काठमाण्डौ फर्किने अधिकारीले बताए। उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ। यस्तै स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरू गृहजिल्ला चितवन आइसकेका छन्। नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा ‘बादल’ गृहजिल्ला चितवन आएका हुन्। उनीहरुले पनि कार्यकर्तालाई भेटघाट गरिरहेका छन्। भरतपुर महानगरपालिका प्रमुखका उमेदवार पाँचदलीय गठबन्धनकातर्फबाट रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती, भरतपुर महानगरपालिका–१४, एमालेकातर्फबाट प्रमुखका उमेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन्। यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन्। माओवादीका नेता नारायण दाहाल, सुर्य पथिकको पनि मतदान केन्द्र भरतपुर नै रहेको छ। उनीहरु पनि चितवनमा नै छ। भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रिय स्तरमा हेरिएको छ।

Like