लोगो, मस्कट र नारा नवौं राष्ट्रिय खेलकुदको सार्वजनिक

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ। शनिबार काठमाण्डौमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन्। लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ। आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ। चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ। कार्यक्रमम मन्त्री गहतराजले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदलाई भव्यरुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक छलफल गरेको जानकारी दिए। राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकिन्द्र कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो। छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन्। यो वर्ष निर्वाचनको बर्ष भएपनि खेलकुद प्रतियोगिताको आयोजनामा कुनै कमी हुन नदिने उनको भनाइ छ। मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ। सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ। लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ। विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुने छन्।

Like