काँग्रेस र जसपाले जारी गरेको विज्ञप्तिले पर्सामा गठबन्धनमा हलचल
रासंसा/पर्सा, बैशाख ४,
मुलुकमा वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ । काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए । तर त्यो विज्ञप्ति उनीहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु बताउँछन् । ती दलका नेताहरुले आफू गठबन्धनकै पक्षमा रहेको र यो गठबन्धन कुनै पनि हालतमा भत्किन नहुने बताए । यता, जसपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जसपा र काँग्रेसका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्ति गठबन्धनको नीति विपरीत रहेको बताए । काँग्रेसका नेता अजय द्विवेदी भने काँग्रेसले जारी गरेको विज्ञप्ति आधिकारिक रहेको बताउँछन् । पर्सामा गठबन्धन नगर्ने कुराको जानकारी आफूहरुले केन्द्रलाई समेत गराइसकेको भन्दै उनले त्यसलाई प्रष्ट पार्न जिल्ला तहबाट त्यस्तो निर्णय सार्वजनिक गरेको बताए । यद्यपि गठबन्धनको केन्द्रीय निर्णय अझै आइ नसकेको बताउँदै उनले केन्द्रको निर्णय कस्तो आउँछ भन्ने प्रतीक्षामा आफूहरु रहेको बताए । हालसम्म गठबन्धन बनाएरै चुनाव जाने तयारी रहेको भन्दै उनले त्यसका लागि केन्द्रले के निर्णय गर्छ, त्यसमा भर पर्ने बताए । ‘महानगरपालिकाको विषयमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने भनेको छ, त्यसको बारेमा कुनै निर्णय नआउँदै बीचमै यस्तो विज्ञप्ति जारी गर्नु गठबन्धन तथा पार्टीको अनुशासन विपरीत हो ।’ ‘वीरगञ्ज महनगरपालिका लगायत अन्य पालिकामा के गर्ने, नगर्ने विषयमा अहिले केन्द्रले कुनै कुनै निर्देशन दिएको छैन,’ उनले भने, ‘उनीहरुले आफ्नै तरिकाले विज्ञप्ति जारी गरी जनतालाई भ्रममा पारेका छन् ।’ उनले भने, ‘हिजो जुन विज्ञप्ति आयो, त्यो जसपा र काँग्रेसको आधिकारीक हो जस्तो लाग्दैन, यदि काँग्रेस र जसपा गठबन्धनबाट बाहिरिए चुनावमा गएको अवस्थामा पनि हामी बाँकी दल गठबन्धन बनाएर चुनावमा जान्छौं ।’ त्यस्तै, माओवादी केन्द्रका नेता रोहवर अन्सारीले काँग्रेस र जसपाबाट आएको विज्ञप्ति नेताहरुको व्यक्तिगत रहेको बताए । जसपा र काँग्रेसले जिल्ला नेतृत्व तहबाट विज्ञप्ति जारी गरे पनि केन्द्रको निर्णय नआएका कारण पर्सामा पाँच दलीय गठबन्धन कायम रहेको उनको भनाइ छ ।