खानेपानी आयोजनाको गोरुसिंगेमा १९ करोड बढी लागतको शिलान्यास
रासंसा/कपिलवस्तु, चैत्र १२,
मुलुकमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। गोरुसिंगे शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगुवाईमा साढे ४ लाख लिटर पानी अटाउने क्षमताको टंकी निर्माणसहितको १९ लाख १० हजार लागतको योजना निर्माणको सुभारम्भ गरिएको हो। यो खानेपानी आयोजना नगर भित्र अहिलेसम्म कै सबैभन्दा बढी लागतको हो। कुल २९ करोड लागतको आयोजना रहे पनि शर्मा भिमेश्व जेभीले १९ करोड १० लागतको ठेक्का लिएको आयोजा प्रमुख हरि ढकालले बताए। यसअघि आयेजना निर्माण स्थलमा सवा १ लाख लिटरको टंकी निर्माण गरी गोरुसिंगेमा खोनेपानी आपूर्ति हुँदै आएको छ। गाउँ बस्तीको विस्तार र परिवार संख्या बढे संंगै वडामा शुद्ध खानेपानीको अभाव भएपछि नयाँ खानेपानी आयोजना सुरु गरिएको ढकालले बताए। नगर प्रमुख केशवकुमार श्रेष्ठले टंकी निर्माणको फाउन्डेशनमा पूजापाठ गरी ढुँगा राखेर आयोजनाको शिलान्यास गरेका हुन्। सो अवसरमा उनले वडा नम्बर २ का बासिन्दाहरुले अब स्वच्छ पानी पिउन पाउने बताए। नगर भित्रै सबैभन्दा बढी लागत र ठूलो खानेपानी आयोजनाले सबै वडावासीहरु शुद्ध खानेपानीबाट बंचित हुन नपर्ने बताए। उनले आयोजना तोकिएकै सयममा पूरा गर्न वडावासी र उपभोक्ता समितिले समेत साथ दिन आग्रह गरे। आयोजनाबाट २१ हजार ४६१ घरपरिवार लाभांवित हुनेछन्। अध्यक्ष नरेन्द्रराज टंडनले नगर कै ठूलो खानेपानी आयोजनाले वडावासीमा खुसीयाली छाएको बताए। यसको निर्माणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए। नरेन्द्रराज टंडनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीरा थारु, कृष्णप्रसाद भट्टराई, बिष्णु हरि शर्मा लागायतको सहभागिता थियो। वडाध्यक्ष भेसराज खनालले आफ्नो वडमा नगर कै सबैभन्दा ठूलो आयोजना सुरु भएकोमा खुसी व्यक्त गर्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए। उनले आयोजनाले अब वडामा खानेपानीको समस्या टर्ने बताए। आयोजना सुभारम्भ भएको १८ महिनाभित्र टंकी निर्माण, ४८ किमी पाईप बिछ्याउने कार्य, पानी प्रशोधन ईकाइ स्थापना, ४ वटा डिप ट्युबवेल निर्माण गरिेनेछ। त्यसपछिको एक वर्षको अवधिमा अप्रेशन र मेन्टेनेन्स तथा तालिम दिइनेछ। आयोजनाको कुल लागत मध्ये ७० प्रतिशत नेपाल सरकारको, २० प्रतिशत नगरपालिका र १० प्रतिशत उपभोक्ताको रहेको छ।