अब हरियो सागपात ल्याउँदा पनि काँग्रेस आयो भनेर डराउने ? एमालेलाई हरियो चिन्हदेखि किन डर ? औचित्य पुष्टि गर्न आयोगलाई चुनौती काँग्रेसको प्रश्न :
रासंसा/काठमाण्डौ, फाल्गुण २६,
मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् । उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय । आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए । यता एमालेले आयोगको सो निर्णयको औचित्य पुष्टि गर्न चुनौती दिएको छ । चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दल भएकोले राजनीतिक दलहरूसँग परामर्श नगरी एकतर्फी रूपमा आयोगले कुनै निर्णय गर्न नहुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको धारणा छ । ओलीको यो टिप्पणीको आयोगले प्रतिरक्षा गरेको छ । अघिल्ला चुनावहरूमा पनि हरियो रङको चुनाव चिन्ह प्रयोग गरेको आयोगको भनाई छ । कालो, निलो, हरियो रातो सबै प्रकारका रङहरू यसअघिका चुनावमा प्रयोग भएको बताउँदै आयोगले मतपत्रमा हरियो चिन्ह राख्नु प्राविधिक कारण भएको दाबी गरेको छ । आयोग स्वतन्त्र संवैधानिक निकाय भएकोले उसले गरेको निर्णय राजनीतिक दलहरूले मान्नुपर्ने काँग्रेसको मत रहेको छ । आयोगले गरेको निर्णयमा राजनीतिक दलहरूको टिप्पणी आवश्यक नरहेको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । चुनाव चिन्ह कस्तो रङको भनेर विवाद झिक्नु भन्दा पनि कम्युनिष्ट पार्टीहरूले बिचार र सिद्धान्त अघि सारेर बहस गर्नुपर्ने उनको तर्क छ ।
मंगलबार काठमाडौँमा भएको कार्यक्रममा हरियो रङको चुनाव चिन्हको विरोध गर्दै आयोगमाथि खनिएका एमाले अध्यक्ष ओलीले बुधबार मोरङको रंगेलीमा भएको सार्वजनिक सभामा पनि काँग्रेस र आयोगको विरोध गरे । उनले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाए । सभामा उनले भने–‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’ उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलीपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले काँग्रेसको आलोचनामा समय खर्चिएका थिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो चुनावमा सबै मतपत्रमा हरियो रङको चुनाव चिन्ह नभएको बताउँदै आयोगले गरेको निर्णयको औचित्य पुष्टि हुनुपर्ने बताए । हाम्रो भनाई के मात्र हो भने निर्वाचन आयोगले मतपत्र, निर्वाचन नियमावली वा निर्देशिकाहरू केही चिजमात्र पनि परिवर्तन गर्दा राजनीतिक दलहरुलाई त्यसको विश्वासमा लिने र त्यसको औचित्य पुष्टि गरेर बताउनु पर्ने हुन्छ । आयोगले मुख्य राजनीतिक दलहरुलाई जानकारी पनि नदिई किन एक्लै गरेको हो ? त्यसमा हामीले प्रश्न उठाएका हौँ । उसले त्यसमा यस यस कारणले भनेर औचित्य पुष्टि गरोस । आयोगले औचित्य पुष्टि गर्यो भने रङको कुरा नै ठूलो कुरा नहोला । तर चुनावको सबैभन्दा ठूलो सरोकारवाला पक्ष भनेको राजनीतिक पार्टीहरू नै हुन् । तिनीहरुसँग सामान्य परामर्शपनि नगरीकन गरिएको निर्णयप्रति हाम्रो प्रतिक्रिया हो ।’ निर्वाचन आयोगले भने यसअघि पनि मतपत्रमा हरियो रङको चुनाव चिन्ह प्रयोग भएको बताएको छ । आयोगले अघिल्लो चुनावमा जे थियो अगामी चुनावमा पनि सोही बमोजिम गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘यसअघिको चुनावमा कालो, रातो, हरियो विभिन्न रङका चुनाव चिन्ह प्रयोग थियो । आयोगले प्राविधिक रूपमा कुन रङको चुनाव चिन्ह ठीक हुन्छ त्यसैलाई लागू गर्ने हो । यो विवाद झिकिराख्नु पर्ने विषय नै हैन ।’ उनले कुनै दलले यसबारे विरोध गर्दैमा आयोगको निर्णयमा परिवर्तन नहुने बताए । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा क्रममा अगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चुनाव चिन्ह हुने जानकारी गराएको थियो । आयोगको निर्णय बाहिरिएसँगै एमालेले त्यसप्रति आपत्ति जनाएको थियो । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग तर्सिन थालेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै महामन्त्री शर्माले मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गर्दै सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उल्लेख गरे । उनले बिचार सिद्धान्तमा बहस गर्नुपर्ने कुरामा जोड दिए । शर्माले भने–‘काँग्रेसको चुनाव चिन्ह चिन्ह हरियो नै हुन्छ । रुख पनि हरियो नै हुन्छ । हरियो नराख भन्नेहरू हरियोबाट डराउन भएन । आफ्नो ढङ्ग सच्याउन र रङसँग नडराऊ भन्न चाहन्छु ।’ एमाले अध्यक्ष ओलीलाई उखानमै जवाफ फर्काउँदै महामन्त्री शर्माले भने–‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनु पर्दैन ढङ्ग सच्चाए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो । हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’ एमसीसी जस्ताको तस्तै पास भएको भए पनि र खारेज गरेरै पठाएको भए पनि देशमा दुर्घटनामा जान्थ्यो । त्यसैले हामीले त व्याख्यात्मक विश्लेषणसहित पास गराएर देश दुर्घटनामा फस्नबाट बचायौँ नि त । हामीलाई कन्फिडेन्स छ कि, हामीले यो ठीक गर्यौँ । त्यसैले हामीलाई सजिलो छ । यही वास्तविक विषय लिएर जनतामा जान्छौँ । महामन्त्री शर्माले ओलीलाई सम्बोधन गर्दै भने–‘कमरेड केपी शर्मा ओलीलाई हरियो रङको आलोचना नगर्न म सुझाव दिन चाहन्छु । हरियो रङमाथि प्रश्न उठाउने हो भने हरियो भन्ने सबै कुरा छोड्नुपर्यो । कि हरियो सागपातमाथि पनि प्रश्न उठाउने हो भोलि ? हरियो सागपात घरभित्र छिर्यो भने काँग्रेस आयो भन्ने भए अव । त्यसकारण विचारको बहस गर्नु, सिद्धान्तको बहस गर्नु राम्रो हुन्छ । कस्तो मतपत्र बनाउने, कस्तो रङ राख्ने भन्ने कुरा त निर्वाचन आयोगको स्वतन्त्रताको विषय हो ।’ निर्वाचन आयोगले भने मतदान गर्दा स्वस्तिक चिन्हको रङसँग फरक गर्न र रातीको समयमा पनि मतगणना गर्न सहज हुने भएकोले हरियो रङको चुनाव चिन्ह मतपत्रमा राख्न लागेको दाबी गरेको छ । एमालेले आयोगसँग यसबारे छिट्टै परामर्श गर्ने तयारी समेत गरेको छ ।