मठ–मन्दिर पनि कंक्रिटबीचमा
रासंसा/काठमाण्डौ, फाल्गुन ७,
मुलुकमा लिच्छविकालीन बस्ती हो, ललितपुर चापागाउँ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो वस्ती अझै अस्तित्वमा रहेको यहाँका मठ–मन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महत्व बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध रहिआएको छ । तर, अहिले यिनै सम्पदा अप्ठयारो परिस्थिति झेलिरहेका छन् । मल्लकालमा कला तथा सांस्कृतिक सम्पदा अझ बढी संरक्षण तथा सम्बद्र्धन भएको इतिहास बताउँछ । लिच्छविकालमै निर्मित एकुटोलको ब्राम्हा मूर्तिले कला विकास सुरु भएको देखिन्छ भने मल्लकालसम्ममा आइपुग्दा धेरै मठमन्दिर कला–कौशलको दृष्टिकोणले खुल्ला संग्रहालयका रूपमा रहेको देखिन्छ । पुर्खाले आर्जेको यिनै कला, संस्कृति तथा सम्पदा संरक्षण वर्तमान परिप्रेक्ष्यमा तड्कारो आवश्यक भइसकेको छ । चापागाउँस्थित भन्सार टोलमा रहेको शिवदेवको शिलालेख (नेपाल भाषामा तस्वाःल्हो) ढुंगाबाट व्यापारिक पृष्ठभूमि दर्शाउँछ । कुनै बेला विभिन्न ठाउँबाट माछा लिएर आउनेलाई यहाँ कर उठाउने गरिन्थ्यो ।
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको बुलुमा विभिन्न मठमन्दिर, ढुंगेधारा तथा पोखरी छन् । यहाँको चन्द्रभैरव मन्दिर स्थापना ‘कहिले भएको ?’ भन्ने यकिन नभए पनि शताब्दीअघिदेखिको इतिहास पाइन्छ । प्यागोडा शैलीमा बनेको मन्दिर तीन तले मन्दिर कलात्मक लाग्छ । स्थानीय आस्थाको केन्द्र र टाइलको छाना छाएको मन्दिर बनाबट अलि फरक देखिन्छ । तलको भाग ठुलो बनाएर छानाको भागको ‘ग्याप’ बनाइएको छ । जात्राका बेला ‘छानामा छुन्छ’ भनेरै तलको भाग अलि ठुलो बनाइएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । यो मन्दिर अहिले संरक्षण पर्खाइमा छ । केही समयअघि पुर्णनिर्माणक्रममा केही भागमा सिमेन्ट प्रयोग भएपछि पुरातत्व विभागले हात झिकेको बताइन्छ । बुलुमा प्रत्येक वर्ष चैत चतुर्दशीका दिन जात्रा गर्न परम्परा छ । जात्रा चैत सुदी एकादशीदेखि सुरु भएर पूर्णिमासम्म चल्छ । यसबेला खटमा तामाको भैरवको मूर्ति राखेर गाउँ परिक्रमा गर्ने परम्परा छ । चन्द्रभैरव मन्दिरमा पहिले कुनै पनि मूर्ति स्थापना गरेको देखिँदैन । अन्य मन्दिरमा जस्तै ढुंगामाथि कलात्मक तोरण स्थापना गरेर पुजाआजा गरिन्थ्यो । बुलु जात्रामा खट बिसाउने स्थान पनि मन्दिरभित्र नै हो । मन्दिर ‘मल्लकालमै बनेको हो कि ?’ भन्ने केही इँट्टाले पनि देखाउँछ । टुँडाल र मुल ढोका साधारण छ । मूर्ति नभएकै कारण मन्दिरभित्र कलात्मक ढुंगाको तोरणलाई पुजा गरिँदै आएको थियो । तर, २०४२ सालमा तत्कालीन शिक्षा तथा संस्कृति राज्यमन्त्री केशरबहादुर विष्टको पहलमा पुरातत्व विभागले भैरवको प्रस्तर मूर्ति स्थापना गरेको थियो ।
बुलु बस्तीबिच रहेको नारायण मन्दिर पनि पुरानै मानिन्छ । पहिला टायलको छाना रहेको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँ मूर्ति ४० वर्षअघि चोरी भएको थियो । पहिले–पहिले दैनिक नित्यपुजा गरिन्थ्यो । तर, आयआर्जन अभावका कारण गर्दा पछि पुजाआजा नै बन्द हुनपुग्यो । चोरी भएपछि अर्को मूर्ति स्थापना गरिएको छैन । मल्लकालमै बनेको यो मन्दिर पुर्णनिर्माण अन्तिम अवस्थामा पुगेको छ । चापागाउँ ११ वडाको ३५ लाख लागतमा मन्दिरले पुनर्जीवन पाएको हो । गुरुयोजनाअनुसार बुलु बस्तीअगाडि भागलाई नेवारी परम्परागत शैलीको बनाउनेछ । निजी खर्चमा ७५ हजार लगाएर गुरुयोजना परिकल्पना गरिएको छ । जसअनुसार बुलुगाउँ नेवारी परम्परागत शैलीको उच्चतम नमुना हुने विश्वास लिइएको छ । नारायण मन्दिर पुर्णनिर्माण समिति अध्यक्ष सारनाथ महर्जनका अनुसार गोदावरी नगरपालिकाका प्रायः बस्ती कला र संस्कृतिमा धनी भए पनि पुरातात्विक हिसाबले पुनर्निर्माण हुन सकिरहेको छैन । मठमन्दिर, पाटीपौवा, पोखरीलगायत पुरातात्विक हिसाबले संरक्षण तथा पुनर्निर्माण हुनुपर्ने महर्जनको जोड छ । ‘सांस्कृतिक नगरपालिकामा नेवारी परम्परागत शैलीमा बास्तुकला निर्माण हुनुपर्ने हो । तर, नगरपालिकाले पुरातत्व तथा सांस्कृतिक विज्ञ नियुक्ति गर्न नस्क्नु बिडम्बना हो,’ उनी भन्छन्, ‘हामीलाई काम गर्न गाह्रो छ । इन्जिनियरले भनेजस्तो बनाउनुपर्दा कला, संस्कृति र परम्परागत शैली लोप हुने अवस्थामा पुगेको छ ।
८० वर्षीय बाबुरत्न महर्जन ‘सना गुठी थक्ली शिवपुर र पशुपति एउटै हो’ भन्ने धारणा बुलुबासीको रहेको सुनाउँछन् । पहिला बुलुलाई ‘शिवपुर’ भनिन्थ्यो । पशुपतिनाथ मन्दिरमातहत रहेकाले गाउँको नाम ‘शिवपुर’ रहन गएको जनविश्वास छ । नेपाल संवत् ८८६ को अभिलेखमा यो गाउँलाई ‘पशुपति देश र शिवपुर’ भनी उल्लेख छ । परापूर्वकालमा बुलु पूर्व दिशामा रहेको पोखरीमा शिवलिंग थियो । ३५ वर्षअघि शिवलिंग चोरी भयो । त्यसको तीन वर्षपछि मनहरा खोला किनार ङ्खयाँकिएको अवस्थामा मूर्ति भेटिएको थियो । सो मूर्ति विदेश लान नसकेर मनहरा खोला कोटेश्वरतिर ङ्खयाकिएको बताइन्छ । अर्को कथनअनुसार दैवी शक्तीका कारण पनि विदेश लान नसकेको हो । हाल, बस्तीबिच भागमा सिमेन्टको मन्दिर बनाएर मूर्ति संरक्षण गरिएको छ । पहिले पशुपति मन्दिरमा दैनिक नित्यपुजा हुन्थ्यो, कुनै रोकतोक थिएन । हाल मन्दिर बन्द अवस्थामा छ । यो र पशुपतिको शिवलिं उस्तै रहेको स्थानीय बताउछँन् ।
यो मन्दिर कान्ति लोकपथसँगै दायाँ भागमा रहेको छ । गोदावरी नपा– १ भन्सारटोलमा अवस्थित मन्दिर दुई तल्ले प्यागोडा शैलीको छ । ‘कहिले र कसले ?’ यो मन्दिर बनाए भन्ने ठ्याक्कै तथ्यांक भेटिएको छैन । मन्दिर निर्माण’bout कुनै एतिहासिक प्रमाण नपाए पनि अगाडि रहेको द्वारपाल सिंहका प्रस्तर स्थापना भने नेसं ७८९ मा स्थानिय धर्मसिंह भारोलगायतले गरेको बुझिन्छ । पहिले टायलको छानो र एकतल्ले मात्र थियो । बाटोनजिकै रहेकोले केही वर्षअघि गाडीले हानेर मन्दिरको केही भाग भत्किएको थियो । २०६९ सालमा मन्दिर संरक्षण समिति गठन गरेर दुई तल्ले प्यागोडा शैलीमा पुनर्निर्माण गरियो । वंदन्तीअनुसार स्थानीय देशार समुदायको एक दुःखी कुमारीसँग सोही स्थानमा टीका भैरवको प्रेमलिला र गन्दर्भ विवाह भएको थियो । यसैको सम्झनामा हालसम्म पनि स्थानीय बज्रबाराही मन्दिर जात्रामा ‘ज्वाइँ’का रूपमा भैरव बोलाएर पुजाआजा र जात्रापछि ‘छोरीज्वाइँलाई बिदाई गर्न’ भनी त्यगलटोलको देशारले घ्याम्पोमा भैरवको मुख भएको मूर्ति राखेर राजकुलो हुँदै बाजागाजासहित टिकाभैरव गएर वनभोज खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘भौलः धय्’ भनिन्छ ।
बज्रबाराही मन्दिरबाट बुलु जादाँ बायाँतिर सानो चोकमा पुरानो शैलीका मन्दिर देख्न सक्छौं । जुन, हरिहर मन्दिर हो । हरिहर (विष्णु र महादेव) एउटै प्रस्तरमा बनाइएको छ । नेवारीमा ‘कुशी धः’ भनिन्छ । संरक्षण अभावका कारण मन्दिर जीर्ण अवस्थामा छ । मल्लकालमा निर्माण भएको यो मन्दिर कुशी देवता शिवलिंगसँग सम्बन्धित छ । आँगनमा मरस्ती जात्राको खट बिसाउने गरिन्छ भने स्थानीय भोजभतेर पनि गरिन्छ । वरिवरि घर बनाउने बेला जग खन्दा मल्लकालीन इँट्टा भेटिकाले पनि यो मन्दिर मल्लकालीन रहेको अनुमान गर्न सकिन्छ । यहाँ अवव्यस्थित रूपमा अन्य मूर्ति छन् । चापागाउँबासीको हरेक सांस्कृतिक पर्वमा यो मन्दिर धुमेर पुजा गर्ने परम्परा छ । विवाह गर्दासमेत दुलहीलाई मन्दिर घुमाएपछि मात्र घर भित्र्याउने परम्परा छ । ब्रतबन्ध, जंकु, जात्रामा समेत यो मन्दिर घुमाउने चलन छ ।
स्थानीय किशोर देशार मन्दिरमा रहेको तुँडाल, मुलढोका, झ्याल, तोरणमा कुँदिएका यौनजन्य क्रियाकलापका कलाको छुट्टै पहिचान रहेको औंल्याउँछन् । टुँडालमा विभिन्न देवीदेवताका यौनजन्य क्रियाकलाप कुँदिएका छन् । ऐतिहासिक मन्दिरको अवस्था पनि दिनप्रतिदिन बिग्रिँदो छ । झिंगटीको छानाबाट पानी चुहिएको छ । कति काठ मक्किइसकेका छन् । सडक मापदण्डभित्र मन्दिर पर्न गएकाले पुनर्निर्माणमा बाधा परेको स्थानीय उमेश कायस्थ बताउँछन् । नगरपालिकाले समेत खासै चासो नदेखाएपछि मन्दिरको हालत दयनीय छ । वंशगोपाल मूर्ति चोरी भएपछि हाल कृष्ण मूर्ति राख्ने गरिएको छ । मन्दिरको एउटा तुँडालसमेत चोरी भइसकेको छ । काष्ठ तथा वास्तुकलाको उच्च नमुनाका रूपमा चापागाउँ पुरानो बसपार्क बायाँतिर रहेको वंशगोपाल मन्दिर ‘कसले कुन सालमा बनाएको ?’ भन्ने प्रमाण छैन । तर, मुल ढोका बायाँ भागमा रहेको अभिलेखअनुसार नेसं ७७२ (इसं १६५२)तिर विष्णुराज भारो र उनका दाइ पत्नीहरूले जिर्णोद्वार गरेर वंश गोपालको मूर्ति राखेका थिए । वंशगोपाल मन्दिरलाई सातदोबाटोभन्दा माथि दक्षिण ललितपुरको सबैभन्दा आकर्षित काष्ठकला र वास्तुकलाको उच्चत्तम नमुनाका रूपमा लिइन्छ ।
उपत्यकाको चार बाराही श्वेत, धुम, नीलमध्ये बज्रबाराही एक हुन् । यो बाराही मन्दिर चापागाउँ पूर्वदिशा जंगलबीच छ । सातदोबाटोबाट ७ किमी टाढा मन्दिर स्थापना हुनुपूर्व पिठमात्रै थियो । पीठ जहिले पनि बस्तीबाहिर हुन्छ । पीठसँगै लाम्चो पानी जमेको कुण्ड छ । यसैलाई बज्रबाराही माताका रूपमा पुजा गरिन्छ । उपत्यकाको एक मात्र गजुर नभएको प्रख्यात मन्दिर बज्रबाराही दुई तल्ले प्यागोडा शैलीमा निर्मित छ । काष्ठ तथा वास्तुकलाको उच्चतम नमुनामा निर्मित मन्दिर ९० सालको भुकम्पले पनि केही नभएको बुढापाका सम्झन्छन् । पहिले झिगटी छाएको मन्दिर २०५६ सालमा तामा पाताले छाएको हो । परापूर्वकालमा सो कुण्डमा सुँगुर (बाराही )खेलिरहेको र पानी फोहर गरेको रिसमा एक व्यक्तिले सुंगुरमाथि प्रहार गरी घाइते बनाएपछि सोही स्थानमा बाराही स्थापना सिंद्व भई बज्रबाराही माता उत्पति भएको किंवदन्ती छ । पहिला ढुंगा पुजा गरिन्थ्यो भने अहिले बज्रबाराही देवीको धातु प्रतिमा स्थापना गरिएको छ । २०७२ सालको भुकम्पले क्षति पु-याएको मन्दिर पछाडि भागको भित्ता पुनर्निर्माण गरिएको थियो । पहिलो तल्लाको चारै भागमा आँखीझ्याल छन् । त्यसमै टाँसेर तुडालको टेको लगाइएको मन्दिरमा तीनद्वारको माथि भागमा कलात्मक तोरण हालिएको छ । पछाडि भागको तोरण २०६१ सालमा चोरी भएको केही वर्षपछि नयाँ राखिएको थियो । १७औं शताब्दीको मूर्ति आँगछेबाट चोरी भएको थियो । भेटिएपछि छाउनी संग्रहालयमा राखियो र २०७७ मा आँगछेमै फिर्ता ल्याइएको थियो । मल्लकालमा निर्माण भएको यो मन्दिर भाषा वंशावलीअनुसार पाटनका राजा श्रीनिवास मल्लले चापागाउँ बज्रबाराही देवीको मूर्ति सुनको बनाई खटमा राखेर नेसं ७८६ चैत शुक्ल ८ सोमबारका दिन ललितपुर सहर घुमाई जात्रा गरी (चम्पापुर) चापागाउँमा राखेको जनविश्वास छ ।
बज्रबाराही मन्दिर समयसमय संरक्षण भएको पाइन्छ । नेसं ८५५ मा राजा विष्णु मल्लले मन्दिर जिर्णद्वार गरी भैंसी चढाएका थिए । २०१५ सालमा राजा महेन्द्रले जिर्णद्वार गरी रंगरोगनका साथै चौरैतिर पर्खाल घेरी मर्मत गरेको पाइन्छ ।
कान्तिलोकपथ बायाँ भागमा बाटोसँगै वंशगोपाल मन्दिर बायाँतर्फ अवस्थित टायलको छानो छाएको यो मन्दिर प्यागोडा शैलीमा छ । यसभित्र कृष्ण मूर्ति राख्ने गरिन्थ्यो । कृष्ण अष्टमिको राति कृष्णको मुर्ति चोरी भएदेखि मन्दिरभित्र विष्णु, नारायणलगायत मूर्ति राख्ने गरिएको छ । २०५९ सालमा काजी देशारको समूहले मन्दिर जिर्णोद्वार गरेको मन्दिर बायाँतिर शिवलिंग र कमलको खम्बासहितको लामो शिलालेख छ । कलात्मक ढोका, झ्याल, टुँडालले सुसज्जित छ, मन्दिर । हाल, नयाँ बनाएर ल्याएको मूर्ति वंशगोपाल मन्दिरमा राखिएको छ भने कृष्ण अष्टमिको एक दिनअघि रातभर जाग्राम बसेर भोलिपल्ट बजार परिक्रमा गर्ने परम्परा छ ।
चापागाउँ गोदावरी नपा–११ एकुटोलमा रहेको गणेश मन्दिर पनि कान्तिलोकपथ दायाँतिर अवस्थित छ । यो मन्दिर नेसं ८१९ मा निर्माण भएको शिलालेखमा उल्लेख छ । एकुटोलबासीको सांस्कृतिक चाडपर्व, विवाह, ब्रतबन्ध, बारा (गुफा) जात्रालगायत हरेक धार्मिक कार्यमा यो मन्दिरमा पुजाआजा गरिन्छ । तत्काल जिर्णोद्वार आवश्यक देखिएको मन्दिरको छतबाट वर्षायाममा पानी चुहिने समस्या छ । केही काठ मक्किसकेका छन् । मन्दिरभित्र बीचमा गणेश र बायाँ भागको भितामा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरिएका छन् । यसको संरक्षण तथा सम्बर्धनमा स्थानीय चासो खासै देखिएको छैन । कुवे गणेश मन्दिरसँगै लिच्छविकालीन ब्रम्हा मूर्ति पनि छ । धेरै पटक चोरी प्रयास भएपछि मूर्तिलाई डण्डीको बार लगाएर संरक्षण गरिएको छ । भन्सार टोल कान्ति लोकपथसँगै टाँसिएको गणेश मन्दिर चापागाँउको मुख्य मन्दिरका रूपमा लिइन्छ । नेसं ८३२ मा मन्दिर निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पहिला टायलको छानो छाएको सो मन्दिर १९ साउन २०६९ मा सुरु भएर १ मंसिर २०६९ मा पुनर्निर्माण सम्पन्न भएको थियो । हरिभक्त मेहर कायस्थको अध्यक्षतामा पुरातत्व विभाग र स्थानीयबासीको सहयोमा सम्पन्न मन्दिर करिब १५ लाख लागतमा पुनर्निर्माण भएको हो । तामाको छाना लगाएर कलात्मक टुँडाल र दाछी इँट्टाले प्यागोडा शैलीमा मन्दिर बनाइएको छ ।
गोदावरी नपा–११ चापागाउँ झ्यालपाटीमा रहेको गणेश मन्दिर नेसं ८३० मा वदुसिं र परिवारले निर्माण गरेका हुन् । चैत पूर्णिामाका दिन बज्रबाराही जात्रा सकेपछि झ्यालपाटीस्थित गणेश मन्दिर जात्रा पूर्णिामाको भोलिपल्ट खटमा राखेर वर्षमा एकचोटी परिक्रमा गर्ने प्रचलन छ ।
चापागाउँ पुरानो बसपार्क बज्रबाराही मन्दिर जाने बायाँतिर कृष्णको प्रस्तर मूर्ति अलपत्र अवस्थामा छ । गोलाकार स्तम्भमा बाटोभन्दा अलि माथि उठाएर दुई नृत्यंगना र बीचमा बाँसुरी बजाउँदै गरेको कृष्ण मूर्ति देख्न सकिन्छ । एउटै ढुंगामा कुँदेर बनाइएको मूर्ति अति आकर्षक र मूर्तिकलाको ज्वलन्त उदाहरण हो । तर, खुल्ला आकाशमुनि यसको संरक्षण हुन सकिरहेको छैन । मूर्तिको बनावट र अनुपात हेर्दा मल्लकालमा बनेको कला कौशल झल्किन्छ । चापागाउँ र नेवार बस्तीमा प्रायः बाटोछेउ मन्दिर र मूर्ति स्थापना गरिएका हुन्छन् । बिहान नित्यपुजा गर्न सहज होस् र धार्मिक आस्था जीवित राख्न बाटोछेउ मूर्ति स्थापना गरिएको हुनसक्ने इतिहासविद् बताउँछन् । भन्सार डबलीसँगै कान्ति लोकपथ बायाँतिर भिमसेनको प्रस्तर मूर्ति स्थापना गरिएको छ । दैनिक पुजाआजा गर्न बनाइएको सो मूर्तिको बनावटले मल्लकालको झल्को दिन्छ ।
नारायणसँगै रहेको यो गणेश मन्दिरमा बुलुमा हुने हरेक चाडपर्वमा पुजाआजा गरिनुका साथै दैनिक नित्यसमेत गरिन्छ । यो मन्दिरको मूर्ति केही वर्षअघि चोरी भएपछि स्थानीयबासीले नयाँ मूर्ति स्थापना गरेका छन् । नेसं ७१९ मा गणेशको सुवर्ण मुखाकृत प्रतिस्थापना गरेको बुझिन्छ ।