कमल थापाको लाचार भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुगेको भनाइ

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ७,

मुलुकमा राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताए। अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहोर्‍याए। उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरे। त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताए। शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उनले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाखा लगाउने र धकेलेर पर पुर्‍याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए। उक्त कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरुले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। यस्तै पाँच वर्षअघि भएको राप्रपा नेपाल र राप्रपाबीच एकतामा आफ्नो गल्ति भएको पनि थापाले बताए। थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गरे। केही समयअघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाडेका हुन्। लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन भएका हुन्।

Like