को बन्ला महामन्त्री ? देउवाले पूर्णता पाउन सुरु,
रासंसा/काठमाण्डौ, पौष १,
मुलुकमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पदाधिकारीको नतिजा आउने क्रम सुरु भएको छ । दुई वटा केन्द्रीय उपसभापति पदका लागि भएको निर्वाचनमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका छन् । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए । काँग्रेसमा पहिलोपटक उपसभापति निर्वाचित भएका हुन् । यसअघि उपसभापति मनोनीत हुन्थे । अब महामन्त्री २ जना र विभिन्न क्लस्टरबाट सह महामन्त्री ८ जनाको मत परिणाम आउन बाँकी छ । महामन्त्री पदमा गगनकुमार थापा, प्रकाशशरण महत, प्रदीप पौडेल, डा मिनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा मैदानमा छन् । १ जना कोषाध्यक्ष भने मनोनीत हुनेछन् । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । देउवाले ४ हजार ६२३ मतमध्ये १८५५ मत प्राप्त गर्दै डा शेखर कोइरालालाई पराजित गर्दै सभापति पदमा निर्वाचित बनेका थिए ।