नेकपा विप्लव नेतृत्वको केन्द्रीय सदस्य विरजंगको श्रद्धाञ्जली सभा र अन्त्यष्टी, को हुन त विरजंग ?
रासंसा /कपिलवस्तु, आश्विन २९,
नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता चन्द्र विक्रम चन्द विरजंगको शिवराज नगरपालिकाको शिवगढीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। शव यात्रापछि शिवगढीमा विरजंगको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो। विरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुन्।
दिल्लीबाट उनको शव शिवगढी ल्याइएको थियो। कपिलवस्तु शिवगढी स्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फूलमाला लगाई श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जली अर्पण गर्न पुगेका पूर्व मन्त्री चक्रपाणि खनाल बलदेव क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठूलो क्षति भएको बताए।
नेकपा कपिलवस्तुको आयोजनामा गरिएको सभामा हजारौको संख्यामा मानिसहरूकाे सहभागिता थियो। श्रद्धाञ्जली दिन गएका नेता कार्यकर्ताहरुले उनको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए। लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको ६१ वर्षको उमेरमा भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो। शिवगढीलाई माआवादी युद्धकालीन समयमा सानो रोप्पाका रुपमा मानिएको थियो।
जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका विरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए। केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका विरजंग कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। कपिलवस्तुको शिवगढीका स्थायी बासिन्दा ६१ वर्षीय विरजंगका दुई छोरा र एक श्रीमती छन्। उनको शनिबारै अन्त्यष्टी गरिएको छ।
को हुन विरजंग?
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता विरजंगको जीवन राजनीति गर्नमा ब्यतित गरे। नेपालको कम्युनिस्ट आन्दोलनमा विरजंगलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ।
दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो। प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो। भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको हो।
विगत १० वर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्वपूर्ण भूमिका खेलेका नेता विरजंगले पञ्चायती निरंकुशता र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए। विप्लवले वैद्यसँग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता विरजंगलाईलाई जेलभित्रै मुटुको रोगले ग्रसित बनाएको थियो।