अन्य थपखेलकुदविश्व

विश्वकै नजरमा अर्जेन्टिना–इंग्ल्यान्डको महासंग्राम

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३०,

विश्वमा विश्व फुटबलका लागि अर्जेन्टिना– इंग्ल्यान्ड दुई प्रतिस्पर्धी टोलीमात्र होइनन् । यससँगै चार दशक लामो इतिहास जोडिएको छ । म्याराडोनाको विरासत, फकल्यान्ड युद्ध, विश्वकपका अविस्मरणीय क्षण र आधुनिक फुटबलका महान् खेलाडी मेस्सीको पहिलो इंग्ल्यान्ड भिडन्त पनि हो । नेपाली समयानुसार ‘फिफा विश्वकप २०२६’ सेमिफाइनलमा बिहीबार राति पौने १ बजे (शुक्रबार बिहान) अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदै छन् । विश्व फुटबलका दुई परम्परागत शक्तिबीचको यो प्रतिस्पर्धा प्रतियोगिताको सबैभन्दा प्रतीक्षित खेल मानिएको छ । यो खेललाई अझ विशेष बनाउने अर्को कारण भने अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हुन् । झन्डै दुई दशक लामो अन्तर्राष्ट्रिय ‘करियर’मा विश्वका अधिकांश शीर्ष टोलीविरुद्ध खेलिसकेका मेस्सी पहिलोपटक इंग्ल्यान्डको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न लागेका छन् ।एकातिर मेस्सी आफ्नो करियरको अधुरो अध्याय पूरा गर्दै अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकप उपाधिनजिक पु¥याउने लक्ष्यमा छन् भने अर्कोतर्फ इंग्ल्यान्ड पुराना हारको इतिहास भुलेर नयाँ पुस्तासँग विश्व फुटबलको शिखरमा पुग्ने सपना पूरा गर्न मैदान उत्रँदै छ । यही कारण विश्वभरका करोडौं फुटबल समर्थकको ध्यान अहिले एउटै खेलकेन्द्रित छ । यस खेलले विश्वकप फाइनल पुग्ने टोलीमात्र तय गर्ने छैन, अर्जेन्टिना–इंग्ल्यान्ड प्रतिद्वन्द्विताको इतिहासमा अर्को अविस्मरणीय अध्यायसमेत थप्ने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डलाई क्वार्टरफाइनलमा ३–१ले पराजित गर्दै अर्जेन्टिनाले ‘अन्तिम चार’मा स्थान सुरक्षित गरेपछि मेस्सीले सञ्चारकर्मीसँग कुरा गर्दै ‘इंग्ल्यान्डविरुद्धको खेल आफ्नो अन्तर्राष्ट्रिय जीवनकै सबैभन्दा विशेष क्षणमध्ये एक हुने’ बताएका छन् । ‘इंग्ल्यान्ड विश्व फुटबलको इतिहास बोकेको टोली हो, उनीहरूसँग विश्वकपको सेमिफाइनल खेल्नु कुनै पनि खेलाडीका लागि ठूलो अवसर हो,’ उनले भने, ‘मैले ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगललगायत धेरै बलिया टोलीसँग खेलें, तर इंग्ल्यान्डसँग कहिल्यै खेल्ने अवसर मिलेन । त्यसैले यो खेल मेरा लागि निकै विशेष छ ।’ मेस्सीले विगतका ऐतिहासिक घटनाले अहिलेको खेलमा कुनै असर नपार्ने पनि स्पष्ट पारे । ‘हामी इतिहासको सम्मान गर्छौं, तर मैदानमा वर्तमानले मात्रै अर्थ राख्छ,’ उनले भने, ‘सेमिफाइनलमा पुग्ने सबै टोली बलिया हुन्छन् । त्यसैले हामी आफ्नो खेलमा केन्द्रित हुनेछौं ।’ सन् १९८२ मा दक्षिण एटलान्टिकस्थित फकल्यान्ड (अर्जेन्टिनाले ‘माल्भिनास’ भन्ने टापुको स्वामिइभ्वलाई लिएर अर्जेन्टिना र बेलायतबीच युद्ध भएको थियो । करिब १० साता चलेको युद्धमा सयौं सैनिकको ज्यान गएको थियो । अन्ततः बेलायतले टापुमाथिको नियन्त्रण कायम राख्यो । रेफ्रीले गोललाई मान्यता दिएपछि इंग्लिस खेलाडीले कडा विरोध गरेका थिए । केही मिनेटपछि म्याराडोनाले बल लिएर पाँच इंग्लिस खेलाडीलाई छलाउँदै गोल गरे । त्यो गोललाई फिफाले पछि ‘शताब्दीकै उत्कृष्ट गोल’को मान्यता दिएको थियो । अर्जेन्टिनाले त्यो खेल २–१ ले जित्यो र विश्वकप उपाधि उचाल्यो । त्यसपछि म्याराडोना अर्जेन्टिनामा ‘राष्ट्रिय नायक’ बने । युद्ध समाप्त भएको चार वर्षपछि मेक्सिकोमा आयोजित विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्ड क्वार्टरफाइनलमा आमनेसामने भए । खेललाई फुटबल नभई दुई राष्ट्रबीचको भावनात्मक प्रतिस्पर्धाका रूपमा पनि हेरिएको थियो । त्यही खेलमा डिएगो म्याराडोनाले विश्व फुटबल इतिहासकै दुई चर्चित गोल गरे । पहिलो गोल उनले हातले बल छोएर गरे, जसलाई पछि उनले ‘ह्यान्ड अफ गड’ नाम दिएका थिए । फ्रान्समा भएको विश्वकप १९९८ मा यी दुई टोली फेरि भेटिए । खेल २–२ को बराबरीमा सकिएपछि ‘पेनाल्टी सुटआउट’मा अर्जेन्टिनाले जित हात पा¥यो । त्यस खेलको सबैभन्दा चर्चित घटना इंग्ल्यान्डका युवा कप्तान डेभिड बेकह्यामले डिएगो सिमियोनेलाई हल्का लात हानेपछि रातो कार्ड पाउनु थियो । त्यस घटनापछि बेकह्याम इंग्ल्यान्ड फर्किंदा व्यापक आलोचनाको सिकार बने । धेरै समर्थकले उनलाई टोलीको हारको मुख्य दोषी ठहर गरेका थिए । पछि उनले त्यस घटनालाई आफ्नो जीवनकै सबैभन्दा कठिन समयमध्ये एक भएको बताएका थिए । जापान–दक्षिण कोरियामा आयोजित विश्वकप २००२ मा अर्जेन्टिना र इंग्ल्यान्ड फेरि समूह चरणमा भिडे । यसपटक इंग्ल्यान्डले डेभिड बेकह्यामको पेनाल्टी गोलमा १–० को जित निकाल्यो । चार वर्षअघिको हारको बदला लिँदै इंग्ल्यान्डले अर्जेन्टिनालाई समूह चरणमै दबाबमा पारेको थियो । अर्जेन्टिना यही चरणबाट बाहिरियो । त्यसयता विश्वकपमा यी दुई टोलीको भेट भएको थिएन । डिएगो म्याराडोनापछि अर्जेन्टिनी फुटबलको सबैभन्दा ठूलो नाम लियोनल मेस्सी हुन् । ‘लामो समयसम्म क्लबस्तरमा असाधारण सफलता पाए पनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको’ भन्दै मेस्सी आलोचित भएका थिए । उनले सन् २०१४ को विश्वकप फाइनल गुमाए, त्यसपछि लगातार दुई ‘कोपा अमेरिका’ फाइनलमा चिलीसँग पराजित भए । तर, सन् २०२१ मा ‘कोपा अमेरिका’ जितेपछि परिस्थितिमा परिवर्तन आयो । त्यसपछि उनले फाइनलिसिमा र २०२२ को विश्वकप जित्दै अर्जेन्टिनालाई नयाँ स्वर्णयुगमा पु¥याए । अहिले उनी लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानमा छन् । यदि अर्जेन्टिनाले यसपटक पनि विश्वकप जित्न सफल भयो भने मेस्सीको ‘अन्तर्राष्ट्रिय करियर’लाई इतिहासकै सबैभन्दा सफल खेलाडीमध्ये एकका रूपमा अझ मजबुत बनाउने विश्वास गरिएको छ । सन् २००५ मा अर्जेन्टिनाका लागि ‘डेब्यु’ गरेदेखि मेस्सीले १ सय ९० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । ६ वटा विश्वकप, सात कोपा अमेरिका, फाइनलिसिमा तथा थुप्रै मैत्रीपूर्ण खेल खेल्दा पनि उनले इंग्ल्यान्डविरुद्ध १ मिनेट पनि खेल्न पाएनन् । ‘कोपा अमेरिका’मा युरोपेली टोली सहभागी हुँदैनन् । विश्वकपमा कहिले फरक समूह, कहिले फरक नकआउट मार्ग र कहिले कुनै एक टोली समयअघि नै बाहिरिएका कारण भेट सम्भव भएन । लगभग २१ वर्षपछि विश्वकप सेमिफाइनलमा मात्रै त्यो प्रतीक्षित क्षण आएको हो । अगस्ट २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । मैदान प्रवेश गरेको केही सेकेन्डमै रेफ्रीले रातो कार्ड देखाएपछि निलम्बनमा परेर उनले त्यसपछि तय भएको अर्जेन्टिना–इंग्ल्यान्ड मैत्रीपूर्ण खेल गुमाउनुप¥यो । विभिन्न प्रतियोगितामा दुवै टोलीको बाटो जुधेन ।

Like