प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
रासंसा/चितवन, आषाढ ९,
मुलुकमा चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र (कार्ड) छपाइमा भएको ढिलाइका कारण प्रभावित भएको छ। पूर्वनिर्धारित तालिकाअनुसार असार ७ गतेभित्र प्रतिनिधि नामावली रुजु सम्पन्न गरी असार ८ गते बिहानदेखि परिचयपत्र वितरण गर्ने योजना थियो। तर कार्य सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लागेपछि प्रतिनिधि दर्ता प्रक्रिया प्रभावित भएको हो। महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु तथा कार्ड वितरण कार्य निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै प्रतिनिधिसमक्ष क्षमायाचना गरेका छन्। प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइ भएसँगै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले चासो दिएका छन्। उनले गएराति बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएका थिए। दर्ता प्रक्रिया छिटो सम्पन्न गरी प्रतिनिधिहरूलाई सहज रूपमा सहभागिता गराउने प्रयास भइरहेको जनाइएको छ। ढिलाइका कारण महाधिवेशनको बन्दसत्र एक दिन पर सरिसकेको छ। अब प्रतिनिधि रुजु र कार्ड छपाइ प्रक्रिया पूरा भएपछि प्रतिनिधि रजिस्ट्रेसन सुरु गरेर बन्दसत्र सुरु हुने छ । रास्वपाका एक नेताले भने, ‘प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइलाई तीव्रता दिन रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी हिजो बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएर भोलिपल्ट बिहान प्रतिनिधि दर्ता सुनिश्चित हुने देखेपछि बाहिरिनु भएको थियो । तर पनि आज बिहान कति बजेबाट प्रतिनिधि रजिस्ट्रेसन सुरु हुन्छ यकिन गरी सूचना अझै आएको छैन।’ यसबारेमा महामन्त्री बुर्लाकोटीसँग सम्पर्क गर्दा प्रतिनिधिहरूको डिजिटल कार्ड प्रिन्ट भएर आउन समय लाग्ने भए अस्थायी रजिस्ट्रेसन प्रवेश कुपनबाट प्रतिनिधि रजिस्ट्रेसन गर्न निर्देशन र आवश्यक समन्वय गरेको जानकारी दिए । निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिबाट प्रतिनिधि दर्ता सम्बन्धी एकिन समय प्राप्त नभएको समेत उनले जानकारी दिए ।
