गण्डकी प्रदेश प्रहरी कार्यालय,पोखरामा कुकुर पुजा सम्पन्न

अन्जन राज न्यौपाने गण्डकी प्रदेश कास्की सूचना ब्युरो।
कात्तिक-२२, पोखरा ।
यमपञ्चको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाईदै छ । त्यसै क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाईन शाखा अन्तर्गत रहेका कुकुरहरुलाई पनी मिठा मिठा खाने कुरा दिई फुलमालाले पुजा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालका प्रहरी निरीक्षक शिव प्रसाद पाठकको प्रमुख आतिथ्यतामा कुकुर पुजा सम्पन्न भएको छ ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यका साथ विगत लामो समयदेखी अपराध अनुसन्धान कार्यमा तालीम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आईरहेको छ । फलस्वरुप नेपालमा भएका विभिन्न जटिल खालका रहस्यमय अपराधहरुको अनुसन्धानमा समेत नेपाल प्रहरीलाई सफलता मिलेको छ ।
त्यसै क्रममा २०४७ सालमा स्थापना भएको तत्कालीन पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा र हालको गण्डकी प्रदेश केनाईन शाखा अन्तर्गत रहेका विभिन्न विषयमा तालिम प्राप्त कुकुरहरु गण्डकी प्रदेश भरी हुने जस्तासुकै अपराध तथा अन्य घटनाहरुको अनुसन्धान कार्यमा खटीदै आईरहेका छन् ।
उक्त शाखामा रहेका विभिन्न विधाका ७ वटा कुकुरहरुलाई शाखामा कार्यरत प्रहरी कर्मचारीहरुद्धारा प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानमा थप सफलता प्राप्त होस भनी हर्ष उल्लाहासका साथ कुकुर तिहार मनाईएको छ ।
