अन्य थपप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित

Share to:

रासंसा/चितवन, आषाढ ८,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ । नयाँ तालिका अनुसार, हालसम्म तयार भइसकेका प्रतिनिधि कार्डहरूको वितरण आज साँझ ७ बजेबाट सुरु गरिएको छ । त्यस्तै, प्रक्रियामा रहेका बाँकी कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने र कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरिने पार्टीले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचय पत्र (कार्ड) छपाई कार्यमा प्राविधिक ढिलाइ भएपछि पार्टीले आज सुरु हुने भनिएको बन्द सत्र रोकेको हो । पार्टीको केन्द्रीय निर्वाचन आयोग अन्तर्गतको प्रतिनिधि व्यवस्थापन उपसमितिले एक सूचना जारी गर्दै प्रदेशहरूबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने र कार्ड प्रिन्ट गर्ने काममा सोचेभन्दा बढी समय लागेको जानकारी दिएको छ । प्राविधिक व्यवस्थापनमा समय लागेका कारण आजको कार्यतालिका प्रभावित हुन पुगेको सूचनामा उल्लेख छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकोले प्रक्रियागत रूपमा कुनै पनि विवाद नआओस् भन्ने हेतुले सुक्ष्म ढंगले काम गर्दा समय लागेको पार्टीको भनाइ छ । बन्द सत्रको समय परिवर्तनका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै रास्वपाले सबैलाई धैर्यता र सहयोगका लागि अपिल समेत गरेको छ । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ ।

Like