राष्ट्रपति पौडेल कतार प्रस्थान
निशा पाण्डे / काठमाण्डौ, कार्तिक १७,
मुलुकका राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्। राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्। यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा हुन लागेको यो ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनको क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस लगायतसँग भेटवार्ता गर्नेछन्। यो सम्मेलनमा वर्तमान विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिले समाजमा पारेको प्रभाव जस्ता विषयमा छलफल हुनेछ। यसअघि, यस्तै सम्मेलन सन् १९९५ मा डेनमार्कको राष्ट्रपति पौडेल कतारको औपचारिक भ्रमण पूरा गरेर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै विश्व शान्ति र स्थायित्वका लागि सक्रिय सदस्यको रूपमा रहेको छ। अहिले नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पनि छ।