खोटाङ–उदयपुरमा यातायात सञ्चालन हुने फोक्सिङटारमा बन्यो बेलिब्रिज

Share to:

रासंसा/सुनसरी, पौष २०,

मुलुकमा खोटाङ र उदयपुर जोडने सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत भदौमा आएको बाढीले फोक्सिङटारको पक्की पुल बगाएपछि खोटाङ–उदयपुरसम्म आवतजावत गर्ने यातायातका साधन सञ्चालन बन्द भएको थियो। पुल बगाएपश्चात खोटाङवासीलाई तराईका जिल्ला र कोशी प्रदेश राजधानी विराटनगर आवतजावतमा समस्या भएपछि भएपछि खोटाङका सांसद रामकुमार राई (पासाङ) को नेतृत्वमा सबै राजनैतिक दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल लगायतका विभागीय मन्त्रीहरूलाई भेटेर तत्काल सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज निर्माण गर्न माग गरेका थिए। त्यसलगतै प्रधानमन्त्री ओलीले सडक विभागलाई निर्देशन दिएपछि गाईघाट–दिक्तेल सडक आयोजनाले बेलिब्रिज निर्माणको काम अगाडि बढाएको थियो। सुनकोशीको फोक्सिङटारमा जडान थालिएको बेलिब्रिजको निर्माणको काम अन्तिम चरणमा पुगेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए। पुस अन्तिम सम्ममा बेलिब्रिजको उद्घाटन गरि गाईघाट–दिक्तेल यातायातका साधन सञ्चालन गरिने इन्जिनियर ज्ञवालीले बताए। बेलिब्रिज निर्माणको ठेक्का पाएको आरएन कन्ट्रक्सन कटारीका प्रोपाईटर रविन्द्रबहादुर खड्काले पुस २६ गते सम्म बेलिब्रिज निर्माणको काम सम्पन्न गरि २७ गतेदेखि यातायातका साधन सञ्चालन हुने जानकारी दिए। एक करोड २९ लाख ४६ हजार ७७.७९ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पुस १ गतेदेखि बेलिब्रिज जडानको काम सुरु गरेको उनले बताए। ५० मिटर लम्बाई र साडे ३ मिटर चौडाई रहेको छ बेलिब्रिजबाट एकतर्फि यातायातका साधन सञ्चालन गर्न सकिने खड्काले बताए । बेलिब्रिज जडान भएसँगै खोटाङबासीलाई तराईका जिल्ला आवतजावत गर्न र दैनिक उपभोग्य वस्तुहरूको ढ्वानी गर्न सहज हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए। सरकारले दिक्तेल–गाईघाट सडकमा यातायातका साधन सञ्चालनमा सहज बनाउने र खोटाङासिको कष्टकर जिवनलाई सहज बनाउने उद्देश्यले सुनकोसीको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजार रुपैयाँ लागतमा ठेक्का लगाएर पक्की पुलको निर्माण सम्पन्न गरेको थियो। बेलिब्रिज जडानले अस्थायीरुपमा भएपनि खोटाङवासिलाई सुविधा पुग्ने प्रतिनिधिसभा सदस्य रामकुमार राईले बताए। उनले खाटाङवासीको मागलाई तत्काल सम्बोधन गरि बेलिब्रिज जडानको काम गर्न निर्देशन दिने प्रधानमन्त्री ओलीलगायत सरोकारवालालाई धन्यवादसमेत दिए।

Like