वनका राजाको पनि अब बैंक खाता

Share to:

रासंसा/दैलेख, बैशाख ७,

मुलुकमा आफूलाई वनको राजा भन्न मन पराउने राउटे समुदायको पहिलोपटक बैंक खाता खोलिने भएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता सहज रूपले उपलब्ध गराउने उद्देश्यले पहिलोपटक गुराँस गाउँपालिकाले वनका राजा (राउटे समुदाय)को बैंक खाता खोल्न सुरु गरेको हो । राउटे गुराँस गाउँपालिका–८ का बासिन्दा हुन् । ३० असार २०७५ मा राउटेलाई गुराँस गाउँपालिकाले आफ्नो नागरिक बनाउन अस्थायी परिचयपत्र दिएको थियो । राउटेले त्यसबेला सहजै परिचयपत्र बुझे पनि आजभोलि कसैसँग पनि परिचयपत्र छैन । भ्रमणशील जीवनयापन गर्दै यो समुदाय आफूलाई वनको राजा भन्न मन पराउँछन् । राउटेलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज होस् भन्ने उद्देश्यले पहिलोपटक उनीहरूको बैंक खाता खोल्न लागिएको गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोपबहादुर बीसीले बताए । बैंक खाता खोल्नका लागि संकलन भएका विवरणले उनीहरूको पहिचान गर्न सहज हुने गाउँपालिका अध्यक्ष बिसीको भनाइ छ । ‘राउटे जातिले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका छन्, उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न बैंक खाता खोल्न लागिएको हो,’ अध्यक्ष बीसीले भने, ‘बैंक खाता खोलेपछि उनीहरू सरेको ठाउँमा भत्ता वितरण गर्न जाँदा लाग्ने राज्यको लगानीमा समेत कम हुन्छ ।’ ‘राउटेको पहिलोपटक बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेका छौं, उनीहरू जहाँ गए पनि संघीय सरकारले राउटेको सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा पठाउने गरेको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले भने, ‘१ सय ३७ जना राउटे जनसंख्यामध्ये पालिकाले १ सय ७ जनाको विवरण संकलन गरिसकेको छ, अन्यको विवरण संकलनमा लागेका छौं ।’ बैंकमार्फत उनीहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए उनीहरूले गर्ने खर्चमा बचत हुने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निदेश दाहालले बताए । खाता खोल्नका लागि हालसम्म १ सय ७ जना राउटेको विवरण संकलन भइसकेको दाहालको भनाइ छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे हाल यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पादुका खोलाको लामादुवालामा बस्दै आएका छन् । अहिले उनीहरूको संख्या १ सय ३७ रहेको छ । पछिल्ला वर्षहरूमा राउटेको संख्या घट्दो क्रममा छ । बसोबास गर्दै आएको ठाउँमा कुनै सदस्यको मृत्यु भए तत्कालै सो ठाउँ छाड्नुपर्ने परम्परागत चलनलाई उनीहरूले निरन्तरता दिएका छन् भने अन्य कुरामा सामाजीकरण भइरहेको स्थानीय सुरेन्द्र शाहीले बताए । मधुश, खाट, झुमा, आरी कु काठबाट निर्माण गरेका काठका सामग्री बिक्री गरी जीवनयापन गर्दै आएको यो समुदाय भने पछिल्लो समय परनिर्भर बन्दै गएको छ । राउटेलाई सरकारले परनिर्भर बनाएको स्थानीयवासीको भनाइ छ । पहिला राउटे समुदाय आत्मनिर्भर थियो । आजभोलि सरकारले दिने सामाजिक सुरक्षा भत्ता र विभिन्न एनजीओ आईएनजीओले दिने राहतले राउटे अल्छी भएका छन् । सामाजिक सुरक्षा रकमले मदिरामा मोह जागेको छ । नेपालको सम्पदा, कर्णालीको गहना भनेर चिनिने यो समुदाय केही वर्षमा लोप हुने निश्चितप्रायः छ ।

Like