अमेरिका र यूके हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणमा उत्रिए
एजेन्सी,
यूके र अमेरिकी फौजले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले यो रेड सीमा हुथी विद्रोहीले गत नोभेम्बरयता पानीजहाजहरू माथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हुथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ। हुथी उप–विदेशमन्त्री हुसेन अल–इजीले खुल्लमखुल्ला आक्रमणको अमेरिका र यूकेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। एक वरिष्ठ अमेरिकी अधिकारीले हालसम्म हुथीले जबाफी आक्रमण नगरेको बताएका छन्। यूकेका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्। उनले यो हवाई आक्रमण सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भएको बताएका छन्। बाइडनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन्। राजधानी सनासहित रेड सीमा हुथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित हुथीको पकड क्षेत्र सद्दामा हमला भएको बताइएको छ। यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हुथीले इजरायलतर्फ जाने पानीजहाजहरूलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेका छन्। हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानल अल–मजिराले अमेरिकी अगुवाइमा आक्रमण भएका स्थानहरूको विवरण टेलिग्राममा पोस्ट गरेको छ। उक्त टेलिभिजनका अनुसार सनासहित देशको अन्तर्राष्ट्रिय विमानस्थल रहेको अल–दुलामी हवाई अखडामा पनि हमला भएको छ। आक्रमणको निसाना बनाइएका अन्य स्थानहरूमा सद्दा सहरको पूर्वमा रहेको एउटा क्याम्प, हुदैदा विमानस्थल, ताइज अन्तर्राष्ट्रिय विमानस्थलसहितका स्थान छन्। अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सनासहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हुथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिएका छन्। यमनको ठूलो भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीले रेड सी हुँदै इजरायल जाने सबै जहाजलाई निसाना बनाउने चेतावनी दिएका छन्। गत नोभेम्बरमा हुथीहरूले इजरेली स्वामित्व जोडिएको एउटा कार्गो जहाज अपहरण गरेका थिए। पछिल्ला दुई महिनामा उनीहरूले रकेट र ड्रोन प्रयोग गरेर धेरै अन्य व्यावसायिक जहाजहरूमा पनि आक्रमण गरेका छन्। गत अक्टोबर १९ मा गाजामा इजरेली जबाफी कारबाही तीव्र बन्दै गर्दा हुथीले पनि इजरायलतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका थिए। अमेरिकाले रेड सीमा रहेका आफ्ना केही युद्धपोतहरूले त्यसमध्ये केहीलाई बीचमै नष्ट गरिदिएको जनाएको थियो।