नयाँ नेपालको नारालाई माओवादीले वाग्मतीमा बगाए – प्राध्यापक एसडी मुनी
एजेन्सी,
नेपालको शान्ति प्रक्रियामा सघाएका भारतीय प्रध्यापक एसडी मुनिले माओवादीले जगाएको आशा अनुरुपको काम गर्न नसकेको बताएका छन् । उनले ‘नयाँ नेपाल’ को नारा दिएको माओवादीले त्यसलाई वाग्मतीमा बगाएको टिप्पणी गरे। ‘माओवादीले हतियार बिसाउने कुरा भारत र नेपाल दुवै देशका लागि राम्रो कुरा थियो, अर्को तिर माओवादीले नयाँ नेपाल बनाउने कुरा गरेका थिए । त्यो दुई कुराले गर्दा मैले सघाएको थिए,’ उनले भने, ‘तर, नयाँ नेपालको कुरा वाग्मतीमा बगाइसकेका छन् । पावर सेयरिङकै वरिपरि सबै घुमेका छन् ।’ त्रिभुवन विश्व विद्यालयका प्राध्यपाक कृष्ण हाछेथुले लेखेको ‘नेसन बिल्डिङ एण्ड फेडरलिजम इन नेपाल’ किताबमाथिको छलफलमा प्राध्यापक मुनिले नेपालको संविधान निर्माणदेखि अहिलेसम्म ६ जना नेताहरुको सिन्डिकेटले काम गरिरहेको बताएका छन् । ‘पावर सेयरिङ’ पनि उनीहरुकै वरिपरि घुमिरहेको उनको भनाइ छ । निश्चित मानिसहरुले ‘पावर सेयरिङ’ का नाममा गरिरहेको राजनीति नेपालका लागि ठूलो रोग रहेको उनको टिप्पणी छ । उनले निश्चित नेताहरुको सेन्डिकेटलाई माफियाको समेत संज्ञा दिएका थिए । उनले ती व्यक्तिहरुले आफ्नो पार्टी भित्र पनि ‘पावर सेयरिङ’ गर्न नचाहेको भने । उनले त्यस्तै व्यवहारहरुका नेपालमा गणतन्त्र र संघीयताका विशेषताहरु बलियो हुन नसकेको उल्लेख गरे । ‘त्यतिबेला उहाँहरुसँग मेरो पनि भेट भयो, नेपाली नेताहरुले भारतमा सरकारमा रहेकाले हिन्दु राष्ट्र राख्न दिएको दबाब बारे सुनाएका थिए,’ उनले भने, ‘मैल भनेको थिए–त्यसो हो भने दबाब दिनेलाई भन्नुस् पहिला भारतलाई हिन्दु राष्ट्र बनाउनुस् ।’ उनले नेपालकै नेताहरुले भारतलाई ‘स्पेस’ दिने गरेको समेत बताए । अहिले त चीनपनि ‘डिक्टेट’ गर्ने भूमिकामा आइसकेको उनको भनाई थियो । संविधानजारी पूर्व दिल्ली आएका केही नेताहरुले यहाँको संस्थापनको चाहना अनुसार ‘सनातन धर्म’ को पक्षमा कमिटमेन्ट गरेको उनले बताए । युरोपियन युनियनले क्रिश्चिनिटीलाई हेर्दै दिएको दबाब र यता भारतीय संस्थापनको दबाबमा संविधानमा ‘सेकुलर’ पनि लेखे र सनातनको कुरापनि लेखेको उनले भने । उनले नेपालको राजनीतिलाई सही ट्रयाकमा ल्याउन युवा पुस्ताले हस्तक्षेप गर्नुपर्ने बताए । हाछेथुको किताबमाथि दिल्लीको इन्स्टिच्यूट अफ सोसल साइन्सेसले अन्तर्क्रिया राखेको थियो । कार्यक्रममा प्राध्यापक बलभीर अरोरा, डा. रिता मानचन्दा, डा. अश नाराइन, डा. तनवीर अइजाज लगायतले पुस्तकमाथि आफ्नो टिप्पणी गरेका थिए । त्रिबिका प्राध्यापक हाछेथुले नेपाल जस्तो ‘कम्प्रमाइजिङ’ संविधान अन्यत्र कतै पनि नरहेको बताए । उनले गणतन्त्र र संघीयताको विकल्प नरहेको भन्दै आफू अझैपनि आशावादी रहेको उल्लेख गरे । उनले पनि कही नेताहरुले संविधानलाई अगाडि पनि बढ्न नदिने र पछाडि पनि फर्किन नदिने खालेको बनाएको बताए ।