Saturday, October 17, 2026
Latest:
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

यसपालिको विजयादशमी टीका यसरी लगाउने

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २६,

मुलुकमा आज विक्रम संवत् २०८१ साल असोज महिनाको २६ गते । आजकै दिन यो वर्षको विजया दशमी परेको छ । घरको नित्य पूजा सम्पन्न भए पश्चात्, जहाँ घटस्थापनादेखि भगवती देवीको आह्वान गरिरहनु भएको छ त्यसै स्थानमा बसेर सामान्य पूजा सामाग्री तयार गर्नुहोला । कर्मपात्रो, पञ्चपात्रो, आचमनि र पञ्चामृतसहित फूलमाला नैवेद्यको तयारी गरेर जब पूजा कोठामा बसिन्छ, त्यसपछि पहिलो नम्बरमा शुद्धि आचमन गर्नुहोला । आजका दिन ब्रह्म मुहूर्तमा उठेर स्नानादी सम्पूर्ण कर्मबाट निवृत्त भएर शुद्ध पवित्र वस्त्रहरू धारण गरी पूजा कोठामा प्रवेश गर्नुपर्छ । त्यसपछि सर्वप्रथम गुरु मन्त्रको जप गरेर घरको नित्य पूजालाई सम्पन्न गर्नुहोला ।
ॐ माधवाय नमः स्वाहा
ॐ केशवाय नमः स्वाहा
ॐ नारायणाय नमः स्वाहा,
ॐ गोविन्दाय नम:
भनेर तीन पटक पाठ गर्नुहोला । एकपटक हात पखाल्नु होला । अब कर्मपात्रोको पूजा गर्नुहोला । पूजापछि कर्मपात्रोको जल आफ्नो शरिरसहित पूजा सामाग्रीमा सेचन गर्नुहोला । त्यो कुशको टुक्रालाई भुईँमा राख्नु होला । अब पहिलो नम्बरमा दीपनारायाणको पूजा गर्छौँ । ॐ कर्मसाक्षिणे दिपनारायणाय नमः भनेर फुल अक्षता अर्पण गर्नुहोला । आशनम् समर्पयामी कुशको टुक्रा, पाद्यम समर्पयामी पाउ धुने जल । अर्घयको जल । कपुर मिसाएको जल । पञ्चामृत समर्पयामी भनेर कर्मपात्रोको जल दिपनारायाणलाई अर्पण गर्नुहोला । अब ॐ अर्घाय नमः, ॐ अर्घपात्राय नमः भनेर अर्घको जल सुर्य भगवानलाई ॐ सुर्य नारायाण भनेर अर्पण गर्नु होला र दर्शन गर्नु होला । यसरी चन्दन, फुल, अक्षता, जौँ तिल अर्पण गरिसकेपछि दियोको प्रार्थना गर्नुहोला ।
ॐ शुभम भवती कल्याण्म आरोग्यम् सुखसम्पद…
अब इशान भागमा बरुण कलशको स्थापना गर्नु भएको छ भने ॐ बरुणकलशाय नमः भनेर फुल अक्षता चढाउनु होला । फेरि जल चढाउनु होला ।
अब गणेशको पूजा गर्नुहोला । ॐ गंगणपताय नमः भनेर जौँ तील, फुल, अक्षता अर्पण गर्नुहोला र एउटा फल लिएर गणेशको प्रार्थना गर्नुहोला ।
गणेशको प्रार्थना गर्दाका मन्त्रः
ॐ बक्रतुण्ड महाकाय, सुर्यकोटी समप्रभ, निर्भिग्नमं कुरुम्नं देव सर्वकार्य सुसर्वदा भनेर फुल अक्षता गणेश भगवानलाई अर्पण गर्नुहोला ।
अब इशान कलशमा इष्ट देवता, कुल देवतालाई सम्झेर पूजा गर्न सक्नु हुन्छ । घर वरिपरिका सम्पूर्ण कुल देवतालाई सम्झेर फुल, अक्षता अर्पण गर्न सक्नु हुनेछ । आफूले कतै भाकलहरू राख्नुभएको छ भने सम्पूर्ण देवी देवतालाई अक्षता चढाएर सम्झनुहोला ।
धुपवत्ति गरिदिनुहोला । पकाएका नैवेद्यहरू, फलादी नैवेद्यहरू अर्पण गरिदिने । भगवतीलाई अनार प्रिय लाग्ने भएकाले अवश्य चढाउनु होला । अलिकति जल चढाउनु होला, दक्षिणा चढाउनु होला, चमरचम्पले हम्किनु होला, ऐना देखाइ दिनु होला । यो तरिकाबाट आरती पुष्पाञ्जली गर्नु पर्छ ।
अब देवी विसर्जन गर्नुपर्ने भएकाले थालीको बिच भागमा अपराजिता भगवती देवीको पूजा गर्नु पर्छ । यसरी देवीको पूजा सम्पन्न हुन्छ । मुख्य कुरा भनेको नौ दिनसम्म अर्घ पूजा गरिरहनु भएको छ, त्यो अर्घलाई हातमा लिएर– हे माता मैले जस्तो प्रकारले जाने त्यस्तै प्रकारले हजुरको पूजा गरेँ भनेर दियो, कलश, गणेशलाई जल चढाउने ।
भगवती देवीलाई तीनपटक प्रदक्षिणा गराएर त्यो अर्घको जल र फल त्यहीँ अर्पण गरिदिनु पर्छ । र, अलिकति जल त्रिकुटीमा राखिदिने र आँखामा लगाउनु पर्छ । अर्घ निवेदन पश्चात् नौ दिनसम्म जुन किसिमको व्रत बस्नु भएको छ सोही व्रत पुरा होस भनेर पुर्णपात्रो गर्नु पर्छ ।
घरमा गुरुपुरोहित वा ब्राह्मण आउन सक्नु हुन्छ भने उहाँलाई बोलाउने । सक्नु हुन्न भने एउटा टपरीमा चामल भरी राखेर जनै, सुपारी, नरिवल र भेटी राखेर पूजा गर्नुहोला । पूजा गर्दा ‘मैले नौ दिनसम्म व्रत बसेँ, पूजा गरेँ मेरो व्रत पूर्णहोस्’, भन्नुहोला । अनि कुश पानी लिएर भगवती देवीलाई अर्पण गर्ने र कुनै दिन ब्राह्मणलाई दिनुपर्छ ।
दक्षिणा सङ्कल्प
हे माता मैले जस्तो जानेँ, त्यस्तै गरेँ यो मेरो दक्षिणा सङ्कल्प पुरा होस भनेर कर्मपात्रोमा छोएर राखिदिने । त्यही दक्षिणा सङ्कल्प कन्या वा ज्वाइँ, भान्जा अथवा कोही माग्ने व्यक्ति आए भने निकालेर दिन मिल्छ । तर, त्यो दान गरेका बस्तुलाई हामीहरूले घरमा राख्नु हुँदैन ।
यति गरेपछि कुशका औँठीहरू खोलेर कर्मपात्रोमा राख्ने र कर्मपात्रोमा भएका कुशसहित एउटा पैसा हातमा लिने र ॐ कायनवाच मनसिन्दिय्र वा…. भन्ने । यसको अर्थ मैले मेरो बुद्धि, मन, इन्द्रियद्वारा, स्वभावद्वारा जानीनजनी जे जस्तो गरेँ स्वीकार गर्नुहोला भनेर अर्पण गर्नु पर्छ ।
पुरुष हुनुहुन्छ भने सास्टाङ्ग दण्डत गर्नुहोला । माताजीहरू हुनुहुन्छ भने घुँडा टेकेर र निहुरिएर नमन गर्नुहोला । पूजा गर्ने क्रममा भगवतीको मूर्ति राख्नु भएको छ भने त्यो मूर्तिमा फूलअक्षता नचढाउनु होला । दियो, कलश गणेशलाई मात्र फुल अक्षता चढाएर विसर्जन गर्न सक्नु हुनेछ ।
त्यसपछि हात जोड्ने । हे माता मैले नौ दिनसम्म हजुरको पूजा आराधना गरेँ । केही भुलचुक भएको रहेछ भने मलाई क्षमा गर्दिनुहोस्, म त हजुरको बच्चा हुँ । सेवक हुँ । एउटा सन्तानले गल्ती गर्दा मातापिताले जसरी माफी दिनुहुन्छ त्यसैअनुसार मलाई पनि माफ दिनुस् भनेर शरणमा पर्नुहोला ।
ॐ आवाहनम् नजानामी, नजानामी बिसर्जनम् । पुजाम् चैवनजानामी क्षम्यताम परमेश्वरी ।
हे भगवती माता मैले नजानी नजानी आह्वान गरेको । केही भुलचुक गरेको छु भने माफी दिनुस् भने र विसर्जन गर्न सक्नु हुनेछ । त्यसपछि घर वरिपरि फुल अक्षता छर्कने । पूजा गर्ने । अनि मुख्य घडा निकालेर कमपात्रोमा राखेर सबै परिवारमा अर्पण गर्ने । यस वर्ष देवी विसर्जनको साइत शनिबार ८ बजेर ३३ मिनेटमा रहेको छ भने टीकाको साइत ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ । मान्यजनले आफूभन्दा साना मानिसलाई लगाइदिने । कोही हुनु हुन्न भने ब्राह्मण वा कन्या केटीबाट टीका लगाई माग्नु पर्छ । सो साइतमा टीका लगाउने अनुकूल मिलेन भने भगवतीको टीका प्रसाद लगाउन यो दिन अरू कुनै पनि साइत पर्खनु पर्दैन । मनमा भगवतीको स्मरण गरेर कुनै पनि समयमा भगवतीको प्रसाद लगाउन र लगाइदिन सक्नु हुन्छ । टिका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्कने र लगाइमाग्ने व्यक्ति पूर्वतिर फर्केर टीका र आशीर्वाद ग्रहण गर्नु पर्छ ।

Like