इफाप्का सम्मेलन सम्पन्न, १४ बुँदे घोषणापत्र सार्वजनिक
रासंसा/काठमाण्डौ, मार्ग १०,
मुलुकमा १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६औँ इफाप्का सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार समापन भएको सत्रमा इफाप्काका अध्यक्षसमेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौं घोषणापत्र जारी गरेका हुन् । जलवायुअनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यासजस्ता बुँदा पनि घोषणापत्रमा समेटिएका छन् । सहरी पूर्वाधारसहित ऊर्जा, यातायातलगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदा घोषणापत्रमा रहेका छन् । दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भए तापनि बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तनलगायतका चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्राकृतिक विपत्तिसँग जुध्ने संरचना निर्माणको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने बताइएको छ ।इफाप्कामा आबद्ध सदस्य राष्ट्रहरूबीच अझ बलियो साझेदारी कायम गरिनुपर्ने बुँदा पनि घोषणापत्रमा रहेको छ । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित मंसिर ५ बाट सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।