तिहार र छठमा पनि बिकेनन् दसैंलाई ल्याइएका च्यांग्रा

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १०,

मुलुकमा विगतका वर्षमा झैं सरकारले यसपालि पनि दसैंमा खसीबोका र च्यांग्रा किनेर सर्वसाधारणलाई बेच्यो । यसको एउटै उद्देश्य थियो— सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गर्ने । सरकारी निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा गरी किनेर उपत्यका ल्यायो । त्यसमध्ये रसुवाबाट ल्याइएका ५ सय ४२ वटा च्यांग्रा थिए । तर यस वर्ष सहज रूपमा च्यांग्रा बिक्री भएनन् । विगतमा बिक्री खुला भएको ३/४ दिनमै सकिने गरे पनि यस पटक छठसम्म पनि बिकेनन् । ‘आर्थिक मन्दीसँगै बिक्रीका लागि ज्ञानको पनि अभाव भयो । व्यापारीहरूले मूल्य तलमाथि गर्दै बिक्री गरे । तर खाद्यमा निर्णय गराउन (प्रक्रिया पूरा गर्न) ढिलाइ हुन्छ,’ एक कमर्चारीले भने, ‘फलस्वरूप खरिद भएका सबै च्यांग्रा बिक्री भएनन् । अब जति ढिलो गर्‍यो, खाद्यलाई त्यति नै समस्या हुन्छ ।’ खाद्यले छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्यांग्रा १२ सय ५० रुपैयाँ बिक्री मूल्य राखेको थियो । मूल्य पोहोरकै निर्धारण गरेको थियो । तर भनेअनुसार बिक्री नभएपछि मूल्य घटाएर खसीबोका ६ सय ५० रुपैयाँ र च्यांग्रा १२ सय २५ रुपैयाँ तोकियो । तर पनि सोचेजस्तो बिक्री भएन । त्यसपछि खाद्यले फेरि तेस्रो पटक मूल्य घटाउँदै खसीबोका प्रतिकिलो ५९० रुपैयाँ र च्यांग्रा ११५० रुपैयाँ निर्धारण गरेर बित्रक्री गर्दै आएको छ । सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले खरिद गरिएका च्यांग्रा बिक्री नभएपछि खाद्यलाई टाउको दुखाइ बनेको छ । पटकपटक मूल्य घटाउँदासमेत बिक्री सन्तोषजनक रूपमा बिक्री नभएपछि निःशुल्क होम डेलिभरीको समेत व्यवस्था गरेको छ । पछिल्लो पटक एकमुस्ट (बल्क) मै बिक्री गर्ने तयारी थालेको छ । ‘दसैंपछि खसीबोका बिक्री भए पनि च्यांग्रा बाँकी रह्यो । सोमबारसम्म १ सय ४ वटा च्यांग्रा बाँकी छन्,’ ती कर्मचारीले भने, ‘अब फेरि मूल्य घटाउनुको विकल्प छैन ।’ ती कर्मचारीका अनुसार खरिदभन्दा मुनाफा बढी राख्न खोज्दा पनि बिक्रीमा कमी आएको छ । सुरुमा च्यांग्रामा किलोकै १ सय ३५ रुपैयाँसम्म नाफा राखिएको थियो । अहिले बल्ल मूल्य धेरै घटाएको ती अधिकारीले बताए । खाद्यमा रहेको च्यांग्राको तौल २८ देखि ३८ किलो छ । धेरैजसो च्याांग्रा ३० देखि ३२ किलोका छन् । प्रतिकिलो ११५० रुपैयाँको दरले ३५ हजार रुपैयाँसम्म लाग्छ । मन्दीको अवस्थामा एउटै परिवारले किन्न गाह्रो हुन्छ । उपत्यकामा चिसो बढ्न थालेकाले बिक्री नभए थप समस्या हुने ती कर्मचारी बताउँछन् । जति ढिलाइ भयो च्यांग्रालाई चाहिने दानापानी र प्रशासनिक खर्च बढ्छ । त्यसैले पनि बल्कमै बिक्रीको तयारी गरिएको बताइएको छ । ‘खसीबोको मूल्य ठीकै भए पनि च्यांग्राको मूल्य बढी निर्धारण भयो । दसैंअघि नै च्यांग्राको मूल्य ११८५ रुपैयाँ हुनुपथ्यो । त्यो मूल्यमा सहजै बिक्री गर्न सकिन्थ्यो । प्रतिकिलो १२५० रुपैयाँ हुँदा किलोमै १ सय ३५ रुपैयाँसम्म मुनाफा थियो,’ खाद्यका अर्कार् एक कर्मचारीले भने, ‘अहिले बिक्री गर्न अनेक उपाय अपनाउनुपरेको छ ।’ एक सय हाराहारीमा च्यांग्रा बिक्री गर्न बाँकी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पुष्टि गरिन् । ‘शिथिल अर्थतन्त्रको असर च्यांग्रामा देखियो, निजी क्षेत्रमा पनि त्यति चाप देखिएन । सहुलियत दरमा बिक्री गर्दा पनि सय हाराहारी च्यांग्रा बाँकी नै रहे,’ उनले भनिन्, ‘सरकारको उद्देश्य घाटा, नाफाभन्दा सर्वसाधारणलाई सहुलियतमा उपलब्ध गराउनु थियो । त्यो लक्ष्य पूरा भएको छ ।’

Like