धादिङका स्थानीयको घरबाहिरै चाडबाड, भूकम्पको त्रासले रातदिन बाहिर
रासंसा/धादिङ, कार्तिक ६,
मुलुकमा पुनः भुकम्प आउने त्रासका कारण धादिङका स्थानीयले घर बाहिर रात काटेका छन् । हिजो पाँच गते आइतवार विहान धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी केन्द्र विन्दु बनाई ६ दशमलव १ रेक्टर स्केलको भुकम्प गएपछि पटकपटकको परकम्पनका कारण यहाँका स्थानीयहरुमा त्रास थपिएको छ । खुल्ला स्थानमा बसेका मानिसहरुलाई नीलकण्ठ नगरपालिका-३ ले त्रिपालको ब्यवस्था गरी बस्ने ब्यवस्था मिलाएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । विहान गएको भुकम्पका कारण ज्वालामुखी गाउँपालिकामा २४ घरमा क्षति पुगेको छ भने धेरै घरहरु चर्किएका छन । धादिङमा विहानदेखि सात पटकसम्म भुकम्पको धक्का महशुस भएपछि अझ ठुलो भुकम्प आउन सक्ने भन्दै घर बाहिर बसेका हुन् । क्षति पुगेका २४ घर मध्ये ६ वटा पूर्ण क्षति भएको हो भने अन्य घरहरुमा सामान्य क्षति पुगेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताएका छन् । भुकम्पका कारण केही बाटोहरुमा पहिरो गएको छ भने मानवीय क्षति चाहिँ भएको छैन ।