राज्यमाथि जति जनताको नियन्त्रण, लोकतन्त्र उति बलियो, प्रधानमन्त्री
रासंसा/काठमाण्डौ, आश्विन २०,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन्। प्रधानमन्त्रीले भने, ‘कविताजीको यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यवहारिक कृति हो। यस्तो महत्त्वपूर्ण कृतिका लागि लेखकलाई बधाई व्यक्त गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो। यति बेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौं। यस सन्दर्भमा हामी सबैले गम्भीर रूपमा चिन्तन गर्न जरुरी छ।’ प्रधानमन्त्रीले भने। नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार: अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला प्रयत्न हुने गरेको बताए। यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी छ उनको भनाइ थियो। प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानून लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठिक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशता तिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखा परेको जिकिर गरे। ‘राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ, राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउँछ।’ उनले भने। ‘यस्तो बेलामा स्थानीय सरकारको महत्त्व के हो ? त्यसको आवश्यकता किन हो ? भन्ने बारे स्थानीय जनप्रतिनिधि जसले आफैंले अनुभव गरे उनीहरुले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिले भन्दा बढेको छ। हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न।’ उनले भने।