चिनियाँ राजदूत नेपाल-भारत मामिलामा गैरकूटनीतिक टिप्पणीले आलोचित
रासंसा/काठमाण्डौ, भाद्र २०,
मुलुकमा नेपाल–भारत मामिलामा गैरकूटनीतिक टिप्पणी गरेको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङको आलोचना भएको छ । नयाँ बानेश्वरको एभरेस्ट होटलमा शनिबार सभामुख देवराज घिमिरेसहितको उपस्थिति रहेको एक कार्यक्रमको भिडियो सार्वजनिक भएपछि नेपाल र भारत मामिलालाई लिएर राजदूत छनको गैरकूटनीतिक टिप्पणी बाहिर आएको हो । पूर्वपर्यटनमन्त्री तथा एमाले नेता आनन्दराज पोखरेल नेतृत्वको टोलीले उक्त कार्यक्रम आयोजना गरेको थियो । नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने राजदूत छनको दाबी छ । नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि भारतबाट चर्को लागतमा विद्युत् आयात गरिरहेको उनको भनाइ छ । ऊर्जा मात्र नभई नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौं रुपैयाँको कृषि उपज आयात गरिरहेको उनले टिप्पणी गरेका छन् । ‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ,’ राजदूत छनले भिडियोमा भनेका छन्, ‘यसलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ ।’ राजदूत छनले नेपाल–भारतबीचको आर्थिक विषयमा विवादास्पद टिप्पणी दिएका हुन् । कान्तिपुरलाई प्राप्त भिडियोअनुसार कल्याण रोक्काको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालले भारतलाई गत आर्थिक वर्षमा १० अर्बको विद्युत् निर्यात गरेको तर त्यस अवधिमा नेपालले भारतबाट १९ अर्बको विद्युत् ल्याएको राजदूतले उल्लेख गरेका छन् । ‘भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’ राजदूत छनले प्रश्न गरेका छन् । नेपाल र भारतको आर्थिक, ऊर्जा र कृषि क्षेत्रबारे चिनियाँ राजदूतबाट यसरी खुला टिप्पणी भएको सम्भवतः पहिलो पटक हो । नेपाल र चीनबीचको सम्बन्धलाई बलियो र सुमधुर बनाउन नेपाल आएका राजदूत छनले आफ्नो कूटनीतिक मर्यादा नाघेर नेपाल र अर्को मुलुकबीचको सम्बन्धमा टिप्पणी गरेका हुन् । चीनको अर्थतन्त्र भने नेपालका लागि राम्रो हुने राजदूत छनको दाबी छ । राजदूत छनले नेपाल र चीनबीच व्यापार घाटा भएको हल्ला मात्र भएको दाबी गरे । नेपाली उत्पादन निर्यात गर्न सधैं हौसला प्रदान गर्दै आएको राजदूत छनको भनाइ छ । चीनले लामो समयदेखि उत्तरी नाका बन्द गरेर दुई मुलुकबीच आयातनिर्यात बन्द हुँदा नेपाली जनतालाई परेको असरबारे भने राजदूत छनले भिडियोमा केही बोलेका छैनन् । चीनको भविष्य एकदम राम्रो रहेको उल्लेख गर्दै नेपाल जस्ता अतिकम विकसित मुलुकको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको उनले बताए । ‘नेपालीहरूलाई मेरो सुझाव छ– नेपालको आर्थिक अवस्थाको पुनःसंरचना हुनुपर्छ । चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ । चिनियाँ अर्थतन्त्रलाई नजिकबाट हेर्नुपर्छ,’ उनले भने । राजदूत छनले विवादास्पद अभिव्यक्ति दिइरहेको पनि उनको भनाइ छ । छनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लागू भइसकेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअन्तर्गत बनाइएको राजदूत छनले प्रस्ट्याएका थिए । यो अभिव्यक्ति पनि विवादास्पद रहेको श्रेष्ठको दाबी छ । चीनले दुई वर्षदेखि नेपालसँग जोड्ने सबै उत्तरी नाका खोल्ने भन्दै आएको छ । तर हालसम्म खोलिएको छैन । किस्ताबन्दीमा मात्र उत्तरी नाका खुलेका छन् । चिनियाँ राजदूतको भनाइ कूटनीतिक मर्यादाविपरीत भएको पूर्वराजदूत तथा कूटनीतिज्ञले जनाएका छन् । ‘चिनियाँ राजदूत नेपाल र चीनबीचको सम्बन्ध बलियो बनाउन आएका हुन् । तर उनले नेपाल–भारत सम्बन्धमा यसरी बोल्नु अस्वाभाविक हो,’ पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भने, ‘छनको यो भनाइ अस्वाभाविक छ । भारतसँग मात्र होइन, चीनसँग पनि नेपालले व्यापार घाटा बेहोरिरहेको छ । हाम्रो निर्यात छैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका बेला चिनियाँ राजदूतबाट यस्तो अभिव्यक्ति आउनु गलत रहेको पनि कर्णको भनाइ छ । अर्का पूर्वराजदूत विजयकान्त कर्णले पनि चिनियाँ राजदूत छन कूटनीतिक मर्यादाविपरीत गएको टिप्पणी गरे । यसरी गैरकूटनीतिक रूपमा अन्य मुलुकबीचको सम्बन्धमाथि टिप्पणी गर्ने राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने उनको सुझाव छ । ‘चीनले पहिला लगातार अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोलेको थियो । अहिले भारतमाथि पनि बोलेको छ,’ उनले भने, ‘चीनले नेपालको परराष्ट्र सम्बन्धमा एकलौटी रूपमा कब्जा गर्न खोजे जस्तो देखिन थालेको छ ।’
