ज्ञानेन्द्र मल्लले टुंग्याए खेलाडी जीवन
रासंसा/काठमाण्डौ, श्रावण २०,
मुलुकमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सक्रिय खेलाडी जीवन टुङ्ग्याएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। उनले क्रिकेटका सबै फरम्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ज्ञानेन्द्र गत जुलाई ४ मा आयरल्यान्डविरुद्ध अन्तिम पटक मैदान उत्रिएका थिए। उनले ३५ एकदिवसीय खेलमा सात अर्धशतकसहित आठ सय ५६ रन बनाएका छन्। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गर्दै ५१ रन बनाएका थिए। उनले राष्ट्रका लागि आफूले शतप्रतिशत दिएको र समग्रमा निकै सन्तुष्ट रहेको बताए। ‘राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रेर आफ्नो शतप्रतिशत दिन पाएँ। यो अवसरका लागि म धेरै कृतज्ञ छु। आएका कठिन परिस्थितिलाई पनि सिकाइका रुपमा लिएँ। समग्रमा भन्नु पर्दा म निकै सन्तुष्ट छु’, उनले पत्रकार सम्मेलनमा भने। नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनले ४५ टीट्वेन्टी खेलमा एक शतक र एक अर्धशतकसहित आठ सय ८३ रन बनाएका छन्। ज्ञानेन्द्र टीट्वेन्टीमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी हुन्। ज्ञानेन्द्रले पछिल्लो समय राष्ट्रिय टोलीमा कमै मात्र मौका पाउने गरेका थिए। लामो समयसम्म बेन्चमा मात्रै बस्न परेपछि उनले सन्न्यासको घोषणा गरेका हुन्। ‘आफूले शतप्रतिशत दिन सक्छु भन्ने नलागेपछि सन्न्यास लिने निर्णय गरेको हुँ’, ज्ञानेन्द्रले भने, ‘राष्ट्रिय टोलीमा रहँदा जहिले पनि शतप्रतिशत दिनुपर्छ। पछिल्लो समय मैले त्यो दिन सकिनँ। आफूले शतप्रतिशत दिन सक्तिनँ भने त्यहाँ रहिरहनुको औचित्य देखिनँ र सन्न्यासको निर्णय गरेको हुँ।’ उनले सन् २०१९ मा मलेसियाविरुद्धको खेलमा २० बलमै अर्धशतक प्रहार गरेका थिए। उनीभन्दा अघि विनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए। उनले सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध एक सय सात रनको शतकीय पालि खेलेका थिए। पारस खड्काले कप्तानी छाडेपछि ज्ञानेन्द्रले सन् २०१९ देखि २०२१ सम्म राष्ट्रिय टोलीको
नेतृत्व गरेका थिए।