अध्यागमन र वैदेशिक रोजगार विभागबिच जुहारी

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी चरेको छ । अध्यागमन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रभित्र रहेर कार्य सम्पादन गर्ने विषयमा आफू प्रतिबद्ध रहेको जनाएको छ । अध्यागमन विभागले सोमबार जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार विभागद्वारा आइतबार जारी विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही जुहारीसँगै अहिले यी दुई सरकारी निकायले एकआपसमा समन्वय नगरी उल्टै आआफ्नै किसिमले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेर फरक धारणा सार्वजनिक गरेका कारण अहिले दुवै विभागबिच कार्यसम्पादनमा नै विवादको अवस्था देखिएको छ । ‘विमानस्थलबाट नेपाली कामदार फर्काइएको सम्बन्धमा नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम कार्यक्षेत्र तोकिएका विषयमा तत्तत् निकायको जिम्मेवारीभित्र पर्ने विषयमा विभाग प्रवेश गर्ने कुनै मनसाय नभएको र प्रचलित कानुनले दिएको आआफ्नो कार्यक्षेत्रभित्र रही कार्य सम्पादन गर्ने विषयमा अध्यागमन विभाग पूर्णप्रतिबद्ध रहेको छ’ अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी खिमराज भुसालद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छ । वैदेशिक रोजगार ऐन २०६४ ले गरेका संस्थागत श्रम स्वीकृति सम्बन्धमा सम्बन्धित निकायको जिम्मेवारीभित्र पर्ने र आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने कार्य अध्यागमन विभागको कार्यक्षेत्रभित्र पर्ने हुँदा संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने श्रमिकको सम्बन्धमा वैदेशिक रोजगार ऐन २०६४, नेपाल राजपत्रमा मिति २०७० सालको २५ कात्तिकमा प्रकाशित सूचना २०७१ सालको ३० वैशाखमा बसेको बैठकको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्दै विश्वसनीय एवं सुरक्षित हुनेगरी श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ र प्रतिबद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ । यसैगरी, अध्यागमनले श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल, समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ रहेको उल्लेख गरेको छ । यसअघि आइतबार वैदेशिक रोजगार विभागले पनि विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकलाई रोक्ने अधिकार अध्यागमनसँग नरहेको प्रस्ट पारेको थियो । त्यसरी कानुनी प्रक्रिया पूरा गरेर गएका श्रमिकलाई रोक्नु विद्यमान कानुनविपरीत रहेको वैदेशिक रोजगार विभागको ठहर थियो । वैदेशिक रोजगार विभागको सो विज्ञप्तिपछि सोमबार अध्यागमनले पनि यस्तो विज्ञप्ति जारी गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना सदस्य व्यवसायी र सम्बन्धित कामदारलाई बल्ल अध्यागमन विभाग पछि हटेर विगतका सहमति मान्न तयार भएको जानकारी गराएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले यस्तो जानकारी गराएका हुन् । भण्डारीले भने, ‘अध्यागमन विभाग वैदेशिक रोजगार ऐन तथा नियमावली र यसअघिका सहमतिअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको अध्यागमन व्यवस्थापन गर्न सहमत भएको छ ।’

Like